Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, स्थानीयद्वारा ट्रकमा आगजनी



विराटनगर : विराटनगरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान बरगाछी चौकमा दुर्घटना हुँदा स्कुटर चालक सुनसरीको दुहबी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय नगेन कुमार चौधरीको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १४११ नम्बरको ट्रकले को ३६ प २८८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि कोशी अस्पतालतर्फ लैजादै गर्दा बाटामै मुत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

मृतक चौधरी इलाका प्रशासन कार्यालय रंगेलीमा कम्प्युटर अपरेटरका रुपमा कार्यरत थिए ।

ट्रकको ठक्करबाट चौधरीको मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रकको अगाडिको भाग पूर्ण रूपमा जलेको छ । केही समय दुर्घटनास्थलको अवस्था तनावग्रस्त बनेको थियो ।

प्रहरीले विराटनगर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको छ ।

आगजनीमा संलग्न भएको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर–४ का प्रल्हाद रायसहितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार