विराटनगर : मोरङको रतुवामाईमा मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान रतुवामाई नगररपालिका–७ सिजुवामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
सिजुवा–कादुपाडा भित्री सडकखण्डमा कादुपाडाबाट सिजुवातर्फ जाँदै गरेको प्रदेश १–०१–५० प ८५२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर बिहान ५ः४० बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक रतुवामाई–७ का अन्दाजी २८ वर्षीय कनैया साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल नालीमा पल्टिएर गम्भीर घाइते भएका साहलाई घटनास्थलबाट उद्धार गरेर उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा बिहान ६ः५५ बजेतिर उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । मोटरसाइकललाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।