विराटनगरका उद्योगी व्यवसायी अर्थमन्त्री, प्रधानमन्त्री, अर्थ सचिव र सरकारमा हैसियत राख्ने मन्त्रीहरू मात्रै होइन कहिले काहीँ राष्ट्रपतिलाई पनि कार्यक्रममा ल्याउने गर्छन् । यो परम्परा लामो समयदेखि चल्दै आएको छ । पछिल्लो समयमा विराटनगरमा उद्योगी व्यवसायीबिच उनीहरूकै सङ्गठनभित्र कुनमा लाग्दा ठुलो पद पाइन्छ र कुन नेता या मन्त्री वा त्योभन्दा ठुलो नेता ल्याउँदा आफ्नो कार्यक्रम भव्य भएको र आफू पावर फुल भएको महसुस हुन्छ, त्यसै गर्छन् । उनीहरूको कार्यक्रम दुई दशकभन्दा बढीदेखि मैले आफैले पनि नजिकबाट हेरिरहेको छु ।
कार्यक्रममा यस्ता व्यक्तिहरू अतिथिको रूपमा आइसकेपछि उद्योगीहरूको भाषण गनगने… प्रवृत्तिको हुन्छ । यस्तो भएन, उस्तो भएन, औद्योगिक वातावरण छैन, सरकारले केही गरेन, हामी पलायन हुन बाध्य भइसक्यौँ, व्यवसाय चौपट छ । यो सदाबहार भाषण भइसक्यो । मञ्चमा गएर भाषण गर्नेलाई त आनन्दै हुन्छ । तर हामीजस्ता नियमित श्रोता र पत्रकारका लागि भने यो गनगने प्रवृत्ति हो कि भनेजस्तो भइसक्यो ।
विराटनगरको उद्योग व्यवसायले पछिल्लो समयमा कुनै सकारात्मक सन्देश दिने काम गर्न सकेको छैन त ? कि कुनै उदाहरणीय उद्योगहरू खुलेका छैनन् ? यस्ता उद्योगहरू जसले रोजगार पनि दिएका र उत्साह पनि जगाएका छदै छैनन् त ? यी यावत कुराहरू पनि बाहिर ल्याएर ऊर्जा भर्नुपर्ने व्यवसायीहरू निरन्तर किन यस्तो कुरा गरिरहेका छन् ? अब विराटनगरका उद्योगी व्यवसायीले उदाहरण प्रस्तुत गर्ने गरी काम गर्ने कि नगर्ने ? भएका ससाना र राम्रा कुराहरूलाई प्रचार गर्ने कि नगर्ने ? यस्ता विषयलाई पनि बाहिर ल्याउँदै आशाको दियो बाल्न सक्नुपर्यो ।
यी त भए उद्योगीका कुरा । पछिल्लो समयमा मेला होस् या उत्सव अथवा उद्योगी व्यवसायीका कार्यक्रमहरू । कार्यक्रममा सञ्चालन प्रवृत्ति पनि बेढङ्गका हुन थालेका छन् । उद्योगी व्यवसायीहरू उद्योगीलाई सम्मान गर्न होइन कि हुल बाँधेर योगदान नहेरीकन प्रजातन्त्रका सेनानी भन्दै सम्मान कार्यक्रम गर्न थालिसकेका छन् । उद्योगीले उद्योगीलाई सम्मान गर्नुपर्यो । अनि मात्र हामी ठिक ठाउँमा पुग्छौ ।
यदि सम्मान नै गर्न परे त्यस्ता व्यक्तिहरूलाई प्रजातन्त्रको सेनानी भनियोस्, जो ७ सालदेखि ६२/६३ को आन्दोलनसम्म आउँदा विचलित नभएको । राजाको शासन हुँदा मन्त्री हुन जाने, पञ्चायतमा प्रधानपञ्च हुनेहरू प्रजातन्त्रका सेनानी हुन सक्दैनन् । यस्ता विषय सोच्नुपर्दछ ।
राष्ट्रपति आउने कार्यक्रममा राष्ट्रपति आइसकेपछि अरू कार्यक्रम स्थगित गरेर भए पनि उनलाई नै प्राथमिकता दिनुपर्छ । त्यसले मात्र संस्थाको गरिमा र इज्जत बढ्छ । कार्यक्रम सञ्चालनमा कसको नाम अतिथिमा आयो या आएन यी सामान्य कुरा भइसके । कसले बोल्यो, कसले बोलेन यो पनि सामान्य हो । राष्ट्रपति आउने कुरा सँगसँगै प्रधानमन्त्री आउने कार्यक्रमका सञ्चालनहरू पनि साङ्गतिक कार्यक्रम जस्ता हाहा र हुहु हुन थाले । यसले के देखाउँछ भने हाम्रा कार्यक्रमहरू कसरी र कुन स्तरमा सञ्चालन भइरहेका छन् भन्ने मात्रै होइन त्यो संस्था वा त्यो समुदायलाई हेर्ने दृष्टिकोण फरक पर्छ । यी कार्यक्रमहरूमा मैले माथि नै उल्लेख गरे, हामी गुनासो मात्रै गर्छौँ । अलिक अगाडि नै बढेर गनगने पनि लेखियो ।
यी कार्यक्रमहरूमा प्राय अतिथिहरूलाई अत्यन्तै चाकडी शैलीमा सम्बोधन गर्ने र व्यक्ति केन्द्रित प्रशंसा गर्ने चलन पनि बढ्न थालेको छ । यसले हामी कहाँ जाँदै छौँ भन्ने कुरा देखाउँछ ।
हामीले हाम्रा कुराहरूलाई उत्साहित र व्यक्ति प्रशंसा नगरीकन राख्न सक्नुपर्छ । र कतिपय कार्यक्रममा त्यसको व्यवस्थापन, त्यसको सहभागिता पनि हेर्नुपर्छ । जिल्लामा भएकाहरूलाई सम्बोधन गर्ने अनि केन्द्रमा भएकाहरूलाई पावरमा छैन भने गन्दै नगन्ने प्रवृत्ति पनि अन्त्य हुन जरुरी छ । मैले भन्न खोजेको यति हो कि पछिल्लो एक हप्तामा विराटनगरमा उद्योगी व्यवसायीले गरेका दुई वटा औपचारिक कार्यक्रमको ढाँचामा केही परिवर्तन गर्नु जरुरी छ ।
यद्यपि विराटनगरका उद्योगी व्यवसायीले यहाँका उद्योगीलाई सम्मान गर्ने र उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने कार्यक्रमहरू भने स्वागत योग्य नै छन् । जुनसुकै संस्थाका नामबाट कार्यक्रम भए पनि विराटनगरका उद्योगी व्यवसायीले मेला, महोत्सव आयोजना गर्ने र आफ्नो कुराहरू सरकारलाई सुनाउने कुरा फेरी सान्दर्भिक नै छ । तर, मैले माथि नै भनेजस्तो सरकारलाई सुनाउने नाममा गुनासो मात्रै होइन सकारात्मक सञ्चार पनि होस् भन्ने मेरो सुझाव हो । विराटनगरका उद्योगी व्यवसायी मिलेर यहाँको विकास र औद्योगिक क्षेत्रमा फड्को मारुन्, अहिलेलाई यत्ति नै सुझाव ।