विराटनगर : नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने एक जना ट्राभल्स सञ्चालक पक्राउ परेका छन् । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा रहेको सिटी टुर्स एन्ड ट्राभल्सका सञ्चालक ४५ वर्षीय विनोद कार्कीलाई पक्राउ गरेको हो ।
कार्की मोरङको पथरीशनिश्चरे नगरपालिका–७ का बासिन्दा हुन् । उनी नेपाली कांग्रेसका नेता पनि हुन् । २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा कार्की मोरङ क्षेत्र नम्बर २ को प्रदेश २ बाट प्रदेश सांसदको उम्मेदवार थिए । त्यसबेला उनी एमालेका लिलाबल्लभ अधिकारीसँग पराजित बनेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार कार्कीले नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सहयोग गर्ने गरेका थिए ।
कार्कीलाई पुस ५ गते काठमाडौँको बल्खुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको छ ।
भिजिट भिषामा विदेश जान लागेका युवा युवतीहरुको शंकास्पद कागजातसहित गत असोज १७ देखि हालसम्म १ हजार ५१३ थान राहदानी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको छ।
जसमध्ये २४६ कागजातमा प्लस्टुको नक्कली सर्टिफिकेट भएको पाइएको छ। यस्तै श्रम स्वीकृती, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट पनि नक्कली देखिएको छ।
उक्त कागजातहरु बनाउने व्यक्तिहरुको पहिचान गर्ने क्रममा एजेन्ट, कन्सलटेन्सी , ट्राभल्स एजेन्सीहरुले एयरलाईन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजारसम्म र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजारसम्म सेटिङ मिलाई विदेश पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
यो प्रकरणमा प्रहरीले अध्यागनका कर्मचारीसहित सेटिङमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।