Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सङ्कल्प यात्राले दिएको सन्देश



  • ऋषिकेश पोखरेल

नेकपा एमालेले सुदूरपश्चिमको बैतडी जिल्लाको झुलाघाटबाट मङ्सिर १४ गते सुरु गरेको पुष्पलाल मध्य पहाडी लोक मार्गको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सम्पन्न भएको छ । समृद्धिका लागि सङ्कल्प यात्रा नाम दिइएको एमालेको यो यात्रा मधेस प्रदेशबाहेक सबै प्रदेशमा पुग्यो ।

मङ्सिर १४ गते झुलाघाटमा शिलालेखसहित झन्डोत्तोलन गरेर सुरु भएको यात्रा चिवाभञ्ज्याङमा पनि शिलालेखसहित झन्डोत्तोलन गरेर समापन गरियो । झन्डोत्तोलन गरिएको दुवै स्थान नेपाल भारतको सीमा क्षेत्र हो । यो एउटा स्वाभिमानको सन्देश पनि हो ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएको यात्राले मध्य पहाडको आर्थिक, सामाजिक, भौगोलिक, सांस्कृतिक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारलगायतका क्षेत्रमा चासो देखाएको छ । एमालेले अब ठोस योजना बनाएर यात्राका क्रममा उठेमा यावत विषयहरूको समाधानको प्रयास खोज्नेछ ।

लोक मार्गको सडक निर्माण र मर्मतमा तीव्रता दिन एमालेले पहल गर्नेछ । राष्ट्रिय एकताको प्रवर्द्धन, मर्मतमा भएको ढिलासुस्तीमा सम्बन्धित पक्षको ध्यानाकर्षण र मुलुकको पूर्वपश्चिम जोड्ने एकताको सूत्र मध्य पहाडी लोक मार्ग हो भन्ने सन्देश एमालेले दिएको छ । शून्यतामा चहलपहल र आन्तरिक बाह्य पर्यटनका लागि सम्भावनाको खोजी गर्दै लामो समयदेखि पहाडी क्षेत्रमा रहेको निराशालाई अन्त्य गर्न सङ्कल्प यात्राले उत्साह थपिदिएको छ

स्थानीय नागरिकहरूमा सुरक्षाको महसुस भएको छ । लामो समयदेखि पहाडमा भइरहेको राज्य, तन्त्र, प्रणाली, सामाजिक सद्भाव र संस्कृतिमाथिको नकारात्मक प्रचार, दबाब, हिंसा र चुनौतीलाई निस्तेज पार्दै सचेतनासहितको जागरणको थालनी भएको छ । राज्यलाई नै चुनौती दिएर गरिने गतिविधि र त्यस वाट सुरक्षा निकाय र सरकारी निकायहरूमा आएको निराशामा एमालेको यात्राले उत्साह र आत्मवलको विकास थप्ने काम गर्‍यो । नागरिकमा आफूहरू राज्यबाट सुरक्षित छैनौँ भन्ने र हामी नै राज्य हौ भन्ने दुवै पक्षलाई राज्य रहेछ भन्ने महसुस गराएको छ ।

लोकतन्त्रमा प्रतिपक्षको महत्त्व के भन्ने कुरा यात्राबाट प्रस्ट बुझ्न सकिन्छ । सरकार नागरिक र राज्यप्रति गैर जबाफदेही रहे पनि प्रतिपक्ष राज्य र नागरिकप्रति सधैँ जबाफदेही बन्छ र छ भन्ने सन्देश दिएको छ । लोकतन्त्रमा हरेक समस्याको समाधान राजनीतिक दल सँगै हुन्छ । राजनीतिक दल केही होइन, तिनीहरूले केही गर्न सक्दैनन् भन्ने प्रचार गरिरहेकाहरूलाई पनि यो यात्राले केही कुरा सिकाएको छ । देशमा गतिशीलता ल्याउने, सत्य र तथ्यलाई उजागर गर्ने, जनतालाई बलवान बनाउने नै राजनीतिक दल हो ।

यात्रामा एमाले नै यो मुलुकको लागि आवश्यक छ भन्ने सन्देश प्रवाह भयो । अब राजनीतिक दलहरू सकिए, त्यसमा पनि एमाले सकियो र काम छैन भन्नेहरूलाई अब देश विकासको संवाहक एमाले नै हो र आगामी निर्वाचनमा एमालेलाई बहुमत दिएर राजनीतिक स्थिरता कायम गर्न आवश्यक छ भन्ने सन्देश दिएको छ ।

वर्तमान समयमा राष्ट्रवादी नेता केपी शर्मा ओली नै हो । मुलुक बदल्नुपर्छ, बदल्न सकिन्छ, बदल्ने योजना यी हुन्, हामी बदल्छौँ, संसारको सम्पन्न विकसित राष्ट्र बन्न सक्छ भन्ने आत्मविश्वास एमाले र केपी ओलीसँग छ ।

७१ वर्षको उमेरमा पहाडको त्यस्तो भूगोल र मौसममा १९ दिनसम्म हजारौँ चुनौतीलाई पार गर्दै अनवरत यात्रा गर्नु चानचुने विषय होइन । यो केबल केपी ओलीबाट मात्रै सम्भव छ । यस्तो सम्भावना र आत्मविश्वासको सन्देश अरू कसैले पनि दिन सक्दैन ।

हाम्रो देशका पहाडमा थुप्रै अवसरहरू छन् । सङ्कल्प यात्रा पनि यसैका लागि हो । पहाडमा के गर्न सकिन्छ, कस्तो अवसर छ, कसरी आर्थिक हिसाबले बलियो बनाउने, बसाइसराइ कसरी कम गर्न सकिन्छ भन्ने कुराको अध्ययन गर्न एमालेले यात्रा गरेको हो ।

हाम्रो विविधताबिचको एकता अझै दरिलो बनाउनुपर्छ । पहाडमा पनि विविधता छ । विविधताबिचको एकता राष्ट्रनिर्माणको अनिवार्य सूत्र हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार