Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगर आगलागी घटनाः उपचारको क्रममा थप एकको मृत्यु, मृतकको संख्या ३ पुग्यो



विराटनगर : विराटनगरको एक कवाडी पसलमा आगलागी हुँदा घाइते भएका अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

गएराति उपचारका क्रममा काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा विराटनगर–६ कै ६५ वर्षीय सुशीला पासवानको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

योसँगै आगलागीमा परेर ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । यसअघि आगलागीमा परेर विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र सुनिता कामतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

मण्डललाई गम्भीर घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । सुनिताको भने जलेर मृत्यु भएको अवस्थामा घटनास्थलमै शव फेला परेको हो ।

बुधबार दिउँसो कवाडी गोदाममा आगलागी हुँदा घाइते भएकाहरुलाई थप उपचारका लागि काठमाडौँ पठाइएको थियो । उनीहरुलाई नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौंको किर्तिपुरस्थित बर्न अस्पताल लगिएको हो ।

आगलागीमा परी घाइते भएका विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीय सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामतलाई काठमाडौँ पठाइएको थियो । तीमध्ये रीता र सुशीलाको अवस्था गम्भीर भएको बुधबार प्रहरीले बताएको थियो ।

घाइतेमध्ये रीता सरदारको अवस्था गम्भीर रहेको र किशोर पासवान र पिंकी कामतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार