Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

म्याक्सवेलको विस्फोटक ब्याटिङमा भारतविरुद्ध अस्ट्रेलियाको रोमाञ्चक जित



एजेन्सी : भारतविरुद्धको टी–२० सिरिजको तेस्रो खेलमा पाहुना टोली अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । योसँगै पाँच खेलको सिरिजमा अस्ट्रेलिया जीवितै रहेको छ । ऊ पहिलो र दोस्रो खेल क्रमशः २ विकेट र ४४ रनले पराजित भएको थियो । जित्नैपर्ने खेलमा भारतले दिएको २ सय २३ रनको लक्ष्य अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले अविस्मरणीय शतकीय इनिङ खेले । ४८ बलको सामना गरेका उनले ८ छक्का र ८ चौकासहित अविजित १०४ रन बनाए । टी–२० मा क्याक्सवेलको यो चौथो शतक हो ।

अन्तिम ओभरका अस्ट्रेलियालाई जितका लागि २१ रन आवश्यक थियो । यो ओभरमा म्याक्सवेलले तीन चौका र एक छक्कासहित १८ तथा कप्तान म्याथ्यू वेडले एक चौकासहित ५ रन जोडे ।

अस्ट्रेलियाले अन्तिम २ ओभरमा ४५ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्‍यो । जसमा वेडले १६ बलमा तीन चौका र एक छक्कासहित कुल २८ रन बनाए । यस्तै, ट्रभिस हेडले ३५, मार्कस स्टोइनिसले १७ र आरोन हार्डीले १६ रनको योगदान दिए । भारतका लागि रवि विश्नोईले दुई, अर्शदीप सिंह, आवेश खान र अक्षर पटेलले एक/एक विकेट लिए ।

त्यसअघि गुवाहाटीस्थित बार्सपारा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय २२ रन बनायो । उसका लागि ओपनिङ ब्याटर ऋतुराज गायकवाडले शतकीय इनिङ खेले । ५७ बलको सामना गरेका उनले १३ चौका र ७ छक्कासहित अविजित १२३ रन बनाए । टी–२० मा गायकवाडको यो पहिलो शतक हो ।

यस्तै, कप्तान सूर्यकुमार यादवले ३९, तिलक वर्माले अविजित ३१ र यशस्वी जैसवालले ६ रन जोडे । अस्ट्रेलियाका लागि आरोन हार्डी, जेसन फेहनड्रोफ र केन रिचडर्सनले एकरएक विकेट लिए । अस्ट्रेलिया र भारतबीचको चौथो टी–२० खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार