विराटनगर : धनकुटामा एकै घरका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटा नगरपालिका–१ निगालेको एक घरभित्र तीन जनाको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजुबाबु महर्जनका अनुसार घरधनी ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुष गुरुङको शव घरभित्रै फेला परेको छ ।
महर्जनका अनुसार आमा छोराको हत्या गरेर टीकारामले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।
टीकारामको शव झुण्डिएको अवस्थामा र आमा छोराको शव ओछ्यानमै फेला परेको महर्जनले जानकारी दिए ।
अत्यधिक मादक पदार्थ सेवन गर्ने टीकारामले घरायसी विवादमा मध्यराति पत्नी र छोराको हत्या गरेर आत्महत्या गरेको हुननसक्ने आशंका छिमेकीले गरेका छन् ।
घटना मध्यराति भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । आज बिहान घरभित्र तीन जनाको शव देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए।
‘अहिले शव घटनास्थलमै छ। आफन्त आएपछि शव पोस्टमार्टमको लागि लैजान्छौँ,’ डीएसपी महर्जनले भने।