Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आज छठको मुख्य दिन, सूर्यको आराधना गरी मनाइँदै



काठमाडौं : आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ। तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ। छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बस्दछन्। साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गर्दछन्। छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन्।

प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेल सम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन्। आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ। घाटलाई पनि बेहुली झैँ सिङ्गारिएको हुन्छ।

छठ पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ। यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ। केही भक्तजन घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन्। कतिले मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन्।

विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ। सत्य र अहिंसाप्रति मानवको रुची बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ। यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ। छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रुपमा ग्रहण गर्ने चलन छ।

प्रतिक्रिया
सम्बन्धित समाचार