विराटनगर : स्रोत नखुलेको २१ लाख ८७ हजारसहित विराटनगरबाट १६ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो उक्त रकमसहित किशोरलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
उक्त रकम अबैध हुण्डी कारोबारको भएको अनुमान प्रहरीले गरेको छ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरीले किशोरले बोकेको कालो झोलाबाट २१ लाख ८७ हजार रकम बरामद गरेको हो।
पक्राउ गरेका किशोरको साथबाट बलराम केसरीको नाममा रहेको कुमारी बैंकको एक थान चेक, रञ्जितकुमार साहको नाममा रहेको एनआईसी एसिया बैंकको चेकमा उमेशकुमार भगतको नाममा काटिएको ८६ हजारको चेक, ग्लोबल आईएमई बैंक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।