रतुवामाई-६ स्थित सौठा माध्यामिक विद्यालयको खेल मैदानमा
विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर-६ मा रहेको सौँठा स्पोर्टिङ क्लबले बडा दसैँ कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले असोज २९ गतेबाट प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।
रतुवामाई-६ स्थित सौँठा माध्यमिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने आयोजक समितिका सदस्य रुपेश ढकालले जानकारी दिए ।
उनका अनुसार आयोजक सौँठा स्पोर्टिङसहित मङ्गलबारे फुटबल क्लब उर्लाबारी, पुष्पाञ्जली फुटबल क्लब भाउन्ने, अमरदह रिपोर्टिङ सुनवर्षी, कोइलीडाँगी युवा क्लब रतुवामाई ८, लेटाङ एकेडेमी, मिल्स यूथ क्लब विराटनगर र राजघाट फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा भोलि (सोमबार) आयोजक र मङ्गलबारे फुटबल क्लबबिच हुनेछ ।
ढकालका अनुसार प्रतियोगिताको विजेताले नगद ५१ हजार रुपैयाँ र उपविजेताले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
नेपालीहरूको महान् चाड बडा दसैँको अवसरमा क्लबले हरेक वर्ष फुटबल प्रतियोगिता सञ्चालन गर्दै आइरहेको छ ।