विराटनगर : भारतकाृ उत्तरी सिक्किममा आएका बाढीपहिरोका कारण इलामका ५ जना नेपाली बेपत्ता भएका छन् । कामको सिलसिलामा सिक्किम पुगेका इलाम नगरपालिकाका ९ का ५ जना नेपाली बेपत्ता भएका हुन् ।
जिल्ला प्रशासन कार्यालय इलामका अनुसार बाढीपहिरो पछि उनीहरू परिवारको सम्पर्कमा छैैनन् । उनीहरू नर्थ सिक्किमको लाचेन क्षेत्रबाट सम्पर्क बेपत्ता भएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।
पोखरेलले उनीहरु लाचेनमा गुम्बा बनाउने कामका लागि सिक्किम गएको बताए ।
परिवारका सदस्यहरुले काममा गएका आफन्तहरू सम्पर्क भन्दा बाहिर रहेको र खोजी गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालय इलाममा अनुरोध गरेको पोख्रेलले बताए ।
उनका अनुसार इलाम ९ गोला खर्कका सेनबहादुर कार्की, लाक्पा शेर्पा, नरमाया बस्नेत, कुमार बस्नेत र खुसी बस्नेत असोज १७ गतेबाट परिवारको सम्पर्कमा छैनन् ।
सिक्किमको ल्होनाक ताल फुटेपछि टिष्टा नदीमा बाढी र पहिरो आएको छ ।
पोख्रेलले सिक्किम प्रहरीसँगको समन्वयमा उनीहरूको खाजी कार्य भइरहेको बताए । सिक्किमको लाचेन क्षेत्रमा बाढी पहिरोको चपेटा नभए पनि सो क्षेत्रमा जाने बाटो अवरुद्ध छ । यस्तै त्यहाँ बिजुली र सञ्चार सेवा समेत अवरुद्ध रहेको छ ।