विराटनगर : पाँचथरको याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेनले कार्यालय सहयोगीलाई कुटपिट गरेका छन् ।
लिङदेनको कुटाईबाट फिदिम नगरपालिका १ घर भएका ३५ वर्षीय छत्रप्रसाद सुवेदीको आँखामा चोट लागेको छ । सुवेदी याङवरक गाउँपालिकाका कार्यालय सहयोगी हुन् ।
सुवेदीका अनुसार प्रमुख प्रशासकीय अधिकृत लिङदेनले कार्यकक्षमा बोलाएर आइतबार कुटपिट गरेका हुन् ।
अधिकृतको कुटपिटबाट आँखामा चोट लागेपछि सुवेदीको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
गाउँपालिका स्रोतका अनुसार लिङदेनले एक जना महिला कर्मचारीको विषयलाई लिएर कार्यालय सहयोगीलाई कुटपिट गरेका हुन् ।
अधिकृत लिङदेनलाई सुवेदीले प्रयोग गर्ने सीमबाट म्यासेज गएको र सोही विषयलाई लिएर अधिकृतले कुटपिट गरेको पीडितको भनाइ छ ।
याङवरक गाउँपालिकाले भने घटनाको विषयमा दुवै पक्षबिच सहमति भएको जनाएको छ ।