Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

आन्दोलनको डरले विराटनगरमा दुई महिना निषेधाज्ञा



विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा विभिन्न आन्दोलनहरु हुन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले दुई महिनाका लागि निषेधाज्ञा जारी गरेको छ ।

मोरङ प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आइतबार सूचना जारी गर्दै असोज १ गते बाट निषेधाज्ञा लागू हुने घोषणा गरेका छन् ।

निषोधाज्ञा जारी गरेको क्षेत्रहरुमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोशी अस्पताल चोक क्षेत्र, मुखयमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रोडशेष चोकदेखि दक्षिण जतुवा चोक क्षेत्र, मुख्यमन्त्री निवासको ३ सय मिटर वरपरको क्षेत्र, प्रदेश प्रमुखको कार्यालयबाट ३ सय मिटर वरपर र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्व रहेको छ ।

पछिल्लो समयमा राजधानीलाई केन्द्रीत गरेर पहिचानवादीको आन्दोलन पनि हुने गरेका छन् । त्यसैगरी शिक्षकहरुको आन्दोलन, पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँग जोडेर हुने आन्दोलन र विभिन्न ऐन कानुनका विषयमा भइरहेका असुन्तृष्टि र सानोतिनो झगडामा समेत जुलुस निस्कने अवस्था आएपछि यो निर्णय भएको प्रशासनले जनाएको छ ।
कोशी प्रदेशको नामकरणको विषयलाई लिएर प्रदेशमा असन्तुष्टि छ । पहिचानवादीहरुले आन्दोलन चर्काउने बताइरहेका छन् ।

प्रहरी उपरीक्ष दीपक पोखरेलले दुई महिनाभन्दा बढी निषेधाज्ञा लगाउन नपाइने भएकाले दुई महिनासम्मको लगाइएको जानकारी दिए । काठमाडौंमा पनि संवेदनशलि क्षेत्रहरुमा लामो समयसम्म जुलुस तथा अन्य भीडभाड हुने गतिविधि गर्न नपाइने भनेर यस्तो गर्ने गरिएको भएपनि पछिल्लो समय एउटा मुद्धामा अदालतले दुई महिनाभन्दा बढी निषेधाज्ञा गर्न नपाइने आदेश दिएकोले सोही अनुरुप निषेधाज्ञा जारी गरिएको पोखरेलले बताए ।

निषेधाज्ञा भएका क्षेत्रमा धेरै मानिसको भीडभाड गर्न नपाइने र जुलुस पनि निकालन नपाइने जानकारी दिँदै पोखरेलले मानिसका दैनिक गतिविधि र आवतजावतमा भने कुनै रोक नगरीने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार