Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

काठमाडौँको गैह्रीगाउँमा चार जनाको हत्या, शंकास्पद १ जना व्यक्ति पक्राउ



काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए । घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ ।

मृत्यु हुनेमा दुई महिला र दुई पुरुष रहेको र अहिले घटनास्थलमा प्रहरी परिचान भएको उनले बताए । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ ।

दोलखा घर भई हाल सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नविन राईको हत्या भएको छ।

उक्त दिव्य सःमिल दोलखा, कालिञ्चोक गाउँपालिका-८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेका थिए। उनीहरु सोही मिलमा काम गर्थे।

हत्यामा सलंग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

घटनामा  प्रहरीले अनुसन्धानका लागि काठमाडौं महानगरपालिका ३२ स्थित तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो।

राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो। उनले मदिरा सेवन गरेको पाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार