नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि देश शोकमय छ । सँगसँगै नेकपा एमाले मात्रै होइन देशले एउटा असल नेता गुमाएको छ ।
वि.सं. २०४६ सालको परिवर्तनपछि उच्चस्तरीय राजकीय पद हासिल गरेका सबैजसो नेताहरु विवादमा पर्दै आएका छन् । तर, उनले यो विवादबाट आफूलाई मुक्त राखे । खासगरेर भ्रष्टाचार, सुशासनसँग जोडिएको मुद्धामा उनीमाथि प्रश्न उठेन । यो उनका लागि ठूलो उपलब्धी हो । सँगसँगै २०६२/६३ को आन्दोलनको उपलब्धीलाई संस्थागत गर्न उनले खेलेको भूमिका नेपालको इतिहासमा महत्वपूर्ण छ ।
जनयुद्धको जगमा उभिएको नेकपा माओवादीदेखि कांग्रेस, एमाले र मधेशवादी दललाई मिलाउँदै संविधान जारी गर्ने अवस्थामा पुर्याउनु चानचुने कुरा होइन । हेर्दा सामान्य लागेपनि २५० वर्ष लामो इतिहाुस बोकेको राजतन्त्र यही संविधान बनेदेखि विना रक्तपात ढल्यो । यो उपलब्धीको श्रेयको भागिदार बनेर नेम्वाङ विदा भए । यस अर्थमा उनका नकारात्मक टिप्पणी सुन्नु परेन । यदाकदा आएका टिप्पणीहरु पनि गौण बने ।
पछिल्लो समय नेकपा एमालेलाई पहिचानविरोधी भनेर आरोप आगिरहँदा सुवास नेम्वाङको उपस्थितिले एमालेको उचाइलाई जीवन्तता कायम राख्न सहयोग पुगेको थियो । वि.सं. २०६९ सालतिर अशोक राईहरुले पहिचानको विषय उठाएर पार्टी छोड्दा संकटमा परेको एमालेलाई सन्देश दिने एउटा फिगर थिए, सुवासचन्द नेम्वाङ ।
पछिल्लो समय कोशी प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनलाई एमालेको तर्फबाट सन्देश दिनसक्ने नेता उनै थिए । त्यसैले पनि उनको निधन हुनुभन्दा दुई दिनअघि सुनसरीको धरानमा आएर उनले आफ्नो धारणा राखेका थिए । महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभुति घोषणा गरेर किरातीहरुको सभ्यतालाई राष्ट्रियकरण गर्नका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको घोषणा गरे ।
किरात सभ्यताको बचावट र सम्वद्र्धनमा भूमिका खेलेको भन्ने विषयमा उनैको मुखबाट व्यक्त भइरहँदा प्रदेशका किरात समुदायका एमालेजनहरुलाई राहात हुने गर्दथ्योे । एमालेमा कोशी प्रदेशबाट स्थायी कमिटीमा रहेका आदिवासी जनजाति समुदायका नेताहरु नेम्वाङ, शेरधन राई, डा. शिवमाया तुम्बाहाम्फे थिए । लिम्बू समुदायबाट त्यस स्तारको उच्च व्यक्तित्व बन्ने सम्भावना अब देखिँदैन् । भएका नेताहरुलाई एमालेले अगाडि बढाउनका लागि त्यो स्तरको ठाउँ दिने र मञ्च पनि दिनुपर्छ । यो मञ्चलाई भएका नेताहरुले कतिको उपयोग गर्छन् भन्ने कुरा समयले बताउने छ । एमालेले अबको दिनमा पहिचानको आन्दोलन गरेर प्रदेशबासीलाई सान्त्वना दिने र नेताहरु उत्पादन गर्नका लागि नयाँ तरिकाले सोच्नुपर्ने अवस्था पनि छ । यदि सम्भावनाहरु छन् भने ती सम्भावनाका ढोकाहरु खोलिदिनुपर्छ ।
यसतर्फ नेकपा एमालेले बेलैमा सोच्नु जरुरी छ । अहिले भइरहेको संरचनाभित्रबाट कसैलाई अवसर दिँदा एमालेले कुनै नेतालाई राष्ट्रियस्तरमा पहिचान दिन सक्छ भने त्यो विकल्पमा ढिलाइ गर्नु हुँदैन् । सुवास नेम्वाङको विदाइ हुँदै गर्दा एमालेले त्यतातिर पनि सोच्न जरुरी छ । सुवासचन्द्र नेम्वाङप्रति भावपुर्ण श्रद्धाञ्जली !