Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सुवास नेम्वाङको अन्त्यष्टि हुँदै, आज शोक विदा



विराटनगर : सरकारले संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज अन्त्यष्टि गरिने भएको छ ।

मंगलबार विहान हृदयघातका कारण निधन भएका नेम्वाङको दुई दिनपछि आज अन्त्यष्टि गरिने भएको हो ।

दिवंगत नेम्वाङका दुवै छोरा विदेशमा रहेका कारण उनको अन्त्यष्टिमा ढिलाइ भएको थियो । उनका जेठा छोरा मेङ्सो बुधबार र कान्छा छोरा सुहाङ मंगलबार बेलुका नेपाल आइपुगेका थिए । जेठा छोरा बेलायत र कान्छा छोरा अस्ट्रेलियामा थिए ।

बुधबार दिउँसो १ बजेसम्म नेम्वाङको पार्थिव शरीर एमाले मुख्यालय च्यासलमा राखिएको थियो । त्यसपछि उनको पार्थिव शरीर बालुवाटारस्थित उनको निवासमा लगिएको थियो ।

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे हुने भएको छ । सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरिसकेको छ भने उनको मृत्युको शोकमा बिहीबारका लागि सार्वजनिक बिदा दिइएको छ ।

त्यस्तै नेपालभरका सबै सरकारी कार्यालयहरु, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार