विराटनगर । प्रदेशको नामलाई लिएर समाजवादी मोर्चा भित्रै विवाद भएपछि प्रदेशको नामै नलेखि विराटनगमा समाजवादी मोर्चाको सन्देश सभा सुरु भएको छ ।
मोर्चामा रहेका जसपा, एकिकृत समाजवादी, माओवादीका बिचमै कोशी लेख्ने नलेख्ने विषयमा विवाद भएपछि कोशी प्रदेशको नाम नै नलेखी कार्यक्रम गर्न तयार भएका हुन् । आज हुनलागेको कार्यक्रममा सन्देश सभाको व्यानरमा कोशी लेखिएको छैन् । कार्यक्रमको आयोजक समेत प्रदेश समिति भनेर लेखिएको छ ।
सन्देश सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरु सहभागी छन् ।
विराटनगर स्थित मनास्लु होटलमा भइरहेको कार्यक्रमको कुनै व्यानर र प्रचार सामाग्रीमा कोशी लेखिएको छैन ।
नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले मोर्चाको उद्देश्य एका तिर र नामको बिषय अर्कोतिर भएको बताए । उनले कोशी लेख्दा विवाद हुने र त्यसले मोर्चाको उद्देश्यलाई नै फरक पार्ने भएकाले ब्यानर र प्रचार सामाग्रीमा नाम नराखिएको बताए । उनले भने, विवाद हुने देखियो त्यसैले हामीले विवाद हुन नदिन कोशी लेख्नबाट रोक्यौ ।
मोर्चाले यस अघि अरू प्रदेशमा गरिएको कार्यक्रममा भने प्रदेशको नाम राखिएको थियो ।
गएको फागुन १७ गते प्रदेशको नामकरण हुँदा मोर्चामा रहेको माओवादीले कोशीको पक्षमा मतदान गरेको थियो । मोर्चामा आबद्ध एकीकृत समाजवादीले भने कोशीको विपक्षमा मतदान गरेको थियो । मतदान गर्ने घण्टी लागिसकेपछि पनि प्रदेश सभामा उपस्थित हुन नसकेपछि जसपा प्रदेश सदस्य निर्मला सुब्बाले भने पक्ष या विपक्षमा मतदान गर्न पाएकी थिइनन् ।
पार्टी भित्रै रहेर कोशीको पक्षमा रहेका एक जना माओवादी नेताले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री आएको कार्यक्रममा प्रदेशको नाम नराख्नु संविधान नमान्नु सरह भएको बताए । उनले भने, असहमतिहरू हुन सक्छन् तर प्रधानमन्त्री तहबाट यस्तो कुरा मान्दिन भन्नु राम्रो सन्देश जाँदैन । संविधान अनुसार प्रदेश सभाको दुई तिहाइ भन्दा बढी मतबाट कोशी नाम राखिएको थियो । प्रदेशको नामकरण गर्दा एमाले, नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले कोशी नामको पक्षमा मतदान गरेका थिए ।
नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्रीबाटै अराजकता फैलाएको आरोप लगाइरहेको बेला प्रचण्डले कोशी नाम नराखीकन सन्देश सभा गर्दा यसको नकारात्मक सन्देश जाने सत्तारुढ गठबन्धनमा समेत परेको नेपाली काङ्ग्रेसका एक नेताले बताएका छन् ।
नेपाली काङ्ग्रेसका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री केदार कार्कीले कोशीको नाममा हस्ताक्षर गरेपछि अव मान्दिन भन्नु संविधानको बर्खिलाप भएको बताए । उनले भने, संविधान मान्दिन भन्नेले सरकार छाडेर जानु पर्छ ।