Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कृषि गणना २०७८ : नेपालमा ६२ प्रतिशत परिवार कृषक



काठमाडौं । नेपालमा ६२ प्रतिशत परिवार कृषक रहेको पाइएको छ ।
कृषिगणना २०७८ अनुसार नेपालमा ४१ लाख ३० हजार ७८९ कृषि परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको दिएको थियो ।
कृषिगणना अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्तो कृषक परिवारको प्रतिशत ७१ देखिएको थियो ।
यो कृषिगणनाले यस्ता कृषक परिवार अन्तर्गत जम्मा कित्ता सङ्ख्या एक करोड १५ लाख ८३ हजार ९५० र प्रति कृषक परिवार कित्ता सङ्ख्या २.८ देखिएको छ । अघिल्लो कृषिगणना २०६८ ले यो सङ्ख्या क्रमशः एक करोड २० लाख ९६ हजार ४१७ र ३.२ रहेको देखाएको थियो ।
यसैगरी कृषिगणनाले कृषक परिवारले १२ लाख नौ हजार २६५.५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखिएको छ । यी कृषक परिवार अन्तर्गतको जम्मा जग्गामध्ये ५४.५ प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ । तर अघिल्लो कृषिगणना २०६८ मा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशत मात्र थियो । यसरी नै यो गणनाका अनुसरा सिँचाइ सुविधा लिएका कृषक परिवार ७० प्रतिशत हुन आएको देखिन्छ भने अघिल्लो कृषिगणनले यो ६५ प्रतिशत रहेको देखाएको थियो । यरी नै सिँचित क्षेत्रफलमध्ये बाह्रै महिना सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल आठ लाख ७९ हजार ५७० हेक्टर (७२.७ प्रतिशत) रहेको यो गणनाले औंल्याएको छ ।
वि.सं.२०१८ सालदेखि हरेक दश दश वर्षमा कृषिगणना गर्दै आएको राष्ट्रिय तथ्याङ्क कार्यालय (साबिकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैत १ गतेदेखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौँ राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो ।
तीनै तहका सरकारहरूलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्य सहित कृषिगणनाको सार कृषि योजनाको पूर्वाधार मूल नाराका साथ सञ्चालित राष्ट्रिय कृषिगणना २०७८ सङ्घीयतापछिको पहिलो कृषिगणना भएको छ ।
विगतका कृषिगणनाहरुमा जिल्लास्तर सम्मका कृषि तथ्याङ्क मात्र प्रकाशन हुँदै आएकोमा यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्याङ्क सङ्कलन गरी प्रकाशन गरिएको छ ।
वैज्ञानिक विधिबाट तीन लाख ३० हजार १ सय १२ कृषक परिवारहरू छनोट गरी कृषक परिवार प्रश्नावली मार्फत कृषि तथा पशुपन्छीसम्बन्धी विस्तृत विवरण सङ्कलनका लागि पाँच हजार १सय ५० गणक, एक हजार ३ सय ५० सुपरिवेक्षक तथा ७७ कृषिगणना अधिकृतहरूसहित करिब सात हजार दुई सय कर्मचारी प्रत्यक्ष र परोक्षरुपमा परिचालित भएका थिए । गोरखापत्रबाट

प्रतिक्रिया
सम्बन्धित समाचार