विराटनगर : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल निर्विरोध निर्वाचित भएका छन् । आइतबार भएको उम्मेदवारी दर्ता प्रक्रियामा उक्त समितिमा पोखरेलको एकल नाम परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिनिधि सभाका १० मध्ये ९ वटा समितिमा निर्विरोध सभापति चयन भएका छन्। त्यस्तै नेकपा एमालेबाट महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साहको एकल उम्मेदवारी परेको छ ।
अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादीका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसकी आरजु राणा देउवा, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी परेको छ।
यस्तै पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशीको एकल उम्मेवारी परको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी परेको छ। उद्योग समितिको सभापतिका रास्वपाले उम्मेदवाी दर्ता गरेपछि सोमबार मतदान हुने भएको छ ।
को हुन् पोखरेल ?
वि.सं. २०२४ साल कात्तिकमा जन्मिएका पोखरले विद्यार्थीकालबाटै राजनीतिमा लागेका हुन् । साविकको गोविन्दपुर गाविस हालको रतुवामाई नगरपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा पोखरेलले स्नातक तहसम्म अध्ययन गरेका छन् ।
२०४२ सालमा कसेनीस्थित मार्कसवादी अध्ययन केन्द्रको सदस्य भएर विद्यालयकालमा नै एमालेको भातृ संगठन अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका पोखरेलले अखिलको विभिन्न तहमा बसेर काम गरे । महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको अखिलको प्रारम्भीक कमिटि अध्यक्ष भएर पनि काम गरे । पछि उनी त्यही क्याम्पसको स्ववियू सभापतिमा समेत निर्वाचित भए । अखिलको जिल्ला कमिटि उपाध्यक्ष, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै उनी २०५४ मा केन्द्रीय सचिवालय सदस्य भएका थिए ।
त्यसबेला उनी स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल काउन्सील प्रमुखसमेत बन्न सफल भएका थिए ।
पोखरेलले पार्टीको सदस्यता भने २०४७ सालमा प्राप्त गरेका हुन् । विद्यार्थी राजनीतिमा लोकप्रिय रहेका पोखरेल अनेरास्ववियुको सचिवालय सदस्यको जिम्मेवारी पूरा गरेपछि जिल्ला कमिटी सदस्यबाट पार्टीको राजनीति सुरु गरे । पार्टीका विभिन्न तहको जिम्मेवारी सम्हालेका पोखरेल अहिले दोस्रो कार्यकालका लागि मोरङ जिल्ला अध्यक्ष छन् ।
२०७० को संविधानसभा निर्वाचनमा पोखरेलले कांग्रेसका प्रभावशाली नेता आमोद प्रसाद उपाध्यायलाई हराएर एकाएक चर्चामा आएका थिए । २०७४ को निर्वाचनमा मीनेन्द्र रिजालसँग पराजित भएका पोखरेलले २०७९ को निर्वाचनमा सुजाता कोइरालाई पराजित गरेका हुन् ।
त्यसो त पोखरेल मुलुकको प्रजातन्त्र प्राप्तिको आन्दोलनका क्रममा २०६२/०६३ को आन्दोलनका क्रममा तीन महिना जेल परेका थिए ।
कांग्रेको आधार क्षेत्र मानिने मोरङ २ बाट दुईपटक निर्वाचित भएर पनि राजकीय जिम्मेवारी नपाएका पोखरेललाई यसपटक नेतृत्वले अवसर दिएको हो । पछिल्लो समय पोखरेल पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिन्छन् ।
के पाउँछन् सेवासुविधा
संसदीय समितिका सभापतिले राज्यमन्त्रीसरह तलब सुविधा पाउँछन्। समिति सभापतिले मासिक ६९ हजार ३० रुपैयाँ तलब पाउँछन् भने २५ हजार ६ सय ५८ रुपैयाँ घरभाडा प्राप्त गर्छन्। काठमाडौं उपत्यकामा घर भएका समिति सभापतिहरूले भने त्यसको आधा रकम घर मर्मतका लागि पाउँछन्। त्यस्तै धारा बिजुलीका लागि २ हजार र सञ्चार सुविधाका लागि ३ हजार सुविधा पाउँछन्। त्यस्तै अतिथि सत्कारका लागि १ हजार रुपैयाँ पाउँछन्।
समितिका सभापतिलाई सचिवालय सुविधादेखि गाडी, तेल सुविधा संसद सचिवालयले प्रदान गर्छ। समिति सभापतिले उपसचिव तहको कर्मचारी, कम्प्युटर अपरेटर राख्न पाउँछन्। त्यस्तै दुई वटा ड्राइभर, दुई वटा कार्यालय सहयोगी राख्न पाउँछन्। गार्डघरको सुविधासमेत पाउँछन्।