Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वडा अध्यक्षलाई कार्यवाहक दिएको निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश



विराटनगर : स्थानीय सरकार सञ्चालन ऐन विपरीत झापाको कमल गाउँपालिकाका प्रमुखले वडाअध्यक्षलाई कार्यवाहक दिएको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले स्थानीय सरकार सञ्चालन ऐन विपरीत उपाध्यक्ष प्रमिला नेउपाने तिवारी हुँदाहँुदै वडा नं २ का अध्यक्ष अशोक सुब्बालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।

केही दिनका लागि जापान जानेपछि राईले वडा अध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर विदेश लागेका थिए ।

उनले कार्यवाहकको जिम्मेवारी वडाध्यक्षलाई दिएको भन्दै उपाध्यक्ष न्यौपानेले उच्च अदालत विराटनगर इलाममा परमादेशको माग गर्दै मुद्दा दर्ता गराएकी थिइन् ।

उक्त मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश सोमकान्त मैनालीले निवेदनको अन्तिम टुंगो नलागेसम्म कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षीहरुको नाममा मंगलबार आदेश दिएका हुन् ।

नेपाली कांग्रेससबाट निर्वाचित अध्यक्ष राईले नेकपा समाजवादीबाट निर्वाचित वडाध्यक्ष सुब्बालाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएका हुन् । उपाध्यक्ष तिवारी भने नेकपा एमालेबाट निर्वाचित भएकी हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ उपदफा ४ (क) अनुसार अध्यक्ष वा प्रमुखको कायम कर्तव्य र अधिकार सम्बन्धी व्यवस्थाको बुँदा नम्बर १२ मा सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै पनि सदस्यलाई कार्यभार दिने भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार