विराटनगर : नेकपा एमालले दबाबमा कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार आजको बैठकमा अनुपस्थित हुने भएकी छिन् ।
एमाले संसदीय दलका एक सदस्यका अनुसार बिरामी विदा लिएर बैठकमा अनुपस्थित हुने उपसभामुखको तयारी छ । आज मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदै छन् ।
दनुवारले आफू बिरामी भएका कारण सभामा उपस्थित हुन नसक्ने जानकारी गराएको स्रोतले जनाएको छ ।
कोशीमा गठबन्धनको सरकार ढाल्ने रणनीतिमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आफ्ना केही जेष्ठ सांसदहरुलाई यसअघि नै बैठकमा अनुपस्थित गराउन प्रदेशसभामा घरायसी समस्या देखाएर निवेदन दर्ता गराउन लगाएको छ । एमालेको यो कमदलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि साथ दिएको छ । राप्रपा सांसद अम्बरबहादुर बिष्ट र गोपल विश्वकर्माले पनि ‘घरायसी समस्या’ भएकाले केही बैठकमा अनुपस्थित हुने भन्दै प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन् ।
कोशीमा राप्रपाका ६ सांसद छन् । त्यसो त बेठकमा अन्य सांसद पनि उपस्थित हुने छैनन् । किनकी बैठकमा अनुपस्थित हुन पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र संसदीय दलका नेता भक्ति सिटौलले निर्देशन छ । राप्रपा सांसद प्रेमराज थामसुहाङले प्रदेशसभाको भोलिको बैठकमा अनुपस्थित हुन पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र संसदीय दलका नेता भक्ति सिटौलले निर्देशन दिएको बताए । ‘केन्द्रीय अध्यक्ष र संसदीय दलका नेताले उपस्थित नहुनु भनेर निर्देशन दिनुभएको छ,’ उनले भने, ‘त्यसैले हामी भोलिको बैठकमा अनुपस्थित हुन्छौँ ।’ उनले राप्रपाका सबै सांसद अनुपस्थित हुने जानकारी दिए ।
यस्तै एमालेका केही सांसदले पनि घरायसी समस्या देखाउँदै भोलिमा बैठकमा आउन नसक्ने जानकारी प्रदेशसभामा गराएका छन् । यसरी समस्या देखाउनेहरु सबै जेष्ठ सदस्य छन् । एमाले सांसद किशोरचन्द्र दुलाल भने विदा लिएर यसअघि नै अमेरिका गएका छन् ।
एमालेका सांसदहरु रोहिदबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवि ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदीले भोलिको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयमा दिएका छन् । अहिलेसम्म एमालेले ७ सांसदलाई अनुपस्थित गराउने तय भएको छ ।
मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउन एमाले र राप्रपाले यस्तो रणनीति बनाएका हुन् ।
सभामुखबिहीन रहेको कोशीमा अहिले उपसभामुख रहेकी सिर्जना दनुवारले सभा सञ्चालन गरिरहेकी छिन् । सभामुखले राजीनामा गरेका कारण अब अर्को सभामुख चयन नहुञ्जेलसम्म उपसभामुखले सभा सञ्चलान गर्नुपर्छ । तर, एमालेले आफ्ना सांसदलाई अनुपस्थित गराए जस्तै उपसभामुखलाई पनि अनुपस्थित गराउने भएको छ । उपसभामुख दनुवार एमालेबाट निर्वाचित सांसद हुन् ।
एमालेका एक सांसद भन्छन्, ‘कांग्रेसको सरकार टिकाइदिनका लागि एमालेले सभा सञ्चालन गरिदिन्छ भनेर गठबन्धन आशमा नबसे हुन्छ ।’ आजको बैठकमा उपसभामुख अनुपस्थित हुने तय भइसकेको ती सांसदले बताए ।
सभामुखलाई चाहिँ राजीनामा गराएर सरकार बनाउन बहुमत सिद्ध गर्ने अनि संकट आएपछि एमालेले सहयोग गर्नुपर्छ भन्ने गठबन्धनको धारणा गलत भएको उनले बताए । ती सांसदले भने, ‘यदि गठबनधनले त्यस्तो आश गरेको छ भने त्यसो गलत हो । उपसभामुखले सभा सञ्चालन गर्ने कुरा हुँदैन् ।’
सांसद अनुपस्थित गराएको विषयमा जिज्ञासा राख्दा उनले भने, ‘घरायसी कामले कहिलेकाँहि सदनमा अनुपस्थित हुन सकिन्छ अहिले त्यही भएको हो ।’ उपसभामुखलाई राजीनामा गराउने कि अनुपस्थित मात्र गराउने भन्ने विषयमा एमाले संसदीय दलका दुई मत छ ।
यता, गठबन्धनले भने उपसभामुखले राजीनामा नगरी बैठकमा अनुपस्थित भए अदालत जाने तयारी गरेको छ । गठबन्धनका एक सांसद भन्छन्, ‘‘राजीनामा नदिएर उपसभामुखले अध्यक्षता नगरे परमादेशका लागि मुखयमन्त्री अदालत जान्छन् । परमादेश जारी भएपछि उपसभामुखसँग मुख्यमन्त्रीले लिखित अनुरोध गरेको दिन सदन सञ्चालन वा राजीनामा दिने दुई विकल्प मात्र बाँकि हुन्छन् । उपसभामुखले दुईमा एक रोज्ने हो ।’
प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) अनुसार सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ भएपनि उनीहरूको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी व्यवस्था छ । नियमावलीको नियम ११ को उपनियम १ मा उक्त व्यवस्था छ ।
जसअनुसार सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न समय–समयमा बढीमा पाँचजना सदस्यहरूलाई मनोनीत गर्न सक्नेछन् । उपदफा (२) मा उपसभामुख तथा उपनियम (१) बमोजिम मनोनयन गरिएको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्नेछन् ।
बैठकमा उपसभामुख सिर्जना दनुवार अनुपस्थित भए उक्त नियमावलीअनुसार सभाध्यक्ष मण्डलका सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुन्छ ।
सभाध्यक्ष मण्डलका सदस्यहमा यसअघिनै चार जनाको मनोनयन भइसकेको छ । जसमा नेकपा एमालेकी मालती लिम्बू, कांग्रेसका इसराईल मन्सुरी, नेकपा माओवादी केन्द्रकी गीता तिम्सिना र राप्रपाका अम्बरबहादुर विष्ट छन् ।
अध्यक्ष मण्डलका विष्ट र लिम्बूे बैठकमा अनुपस्थित हुने तय भइसकेको छ । अब बैठक अध्यक्ष मण्डलमा सदस्य रहेका सांसदहरू कांग्रेसका मन्सुरी अथवा माओवादीकी तिम्सिनाले सभा सञ्चालन गर्नुपर्ने हुन्छ ।
यदि उपसभामुखले राजीनामा दिएको अवस्थामा भने ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने व्यवस्था छ । एमालेका ज्येष्ठ सदस्यले बैठकमा अनुपस्थित हुने सूचना दिएको छ । यस्तो अवस्थामा ज्येष्ठ सदस्यको १३ औँ नम्बरमा रहेका कांग्रेसका अमृत अर्यालले प्रदेशसभाको अध्यक्षता गर्नुपर्ने भएको छ । किनकी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई बैठकको अध्यक्षता गर्न नदिन गठबन्धनले राज्यमन्त्री बनाइसकेको छ ।
यस्तो अवस्था आए मुख्यमन्त्री थापाले ४६ मत मात्र प्राप्त गर्नेछन् र यो सरकार ढल्छ । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्छ । प्रदेशसभामा एमाले ठूलो दल हो । त्यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत पाएन भने पुनः सरकार ढल्छ ।