Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा गठबन्धनको सरकार ढाल्ने राणनीतिमा एमाले–राप्रपा, सांसद अनुपस्थित गराउने


  • Purbeli Press
  • आइतबार, भाद्र ३ २०८०

विराटनगर : कोशी प्रदेशमा गठबन्धनको सरकार ढाल्ने रणनीतिमा रहेका दुई विपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भोलि आफ्ना केही सांसदहरुलाई बैठकमा अनुपस्थित गराउने भएका छन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन विपक्षी दलका सांसदहरु अनुपस्थित हुने भएका हुन् । एमाले र राप्रपाका केही सांसदले ‘घरायसी समस्या’ भएकाले केही बैठकमा अनुपस्थित हुने भन्दै प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन् ।

राप्रपा सांसद प्रेमराज थामसुहाङले प्रदेशसभाको भोलिको बैठकमा अनुपस्थित हुन पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र संसदीय दलका नेता भक्ति सिटौलले निर्देशन दिएको बताए । ‘केन्द्रीय अध्यक्ष र संसदीय दलका नेताले उपस्थित नहुनु भनेर निर्देशन दिनुभएको छ,’ उनले भने, ‘त्यसैले हामी भोलिको बैठकमा अनुपस्थित हुन्छौँ ।’ उनले राप्रपाका सबै सांसद अनुपस्थित हुने जानकारी दिए ।

यस्तै एमालेका केही सांसदले पनि घरायसी समस्या देखाउँदै भोलिमा बैठकमा आउन नसक्ने जानकारी प्रदेशसभामा गराएका छन् । यसरी समस्या देखाउनेहरु सबै जेष्ठ सदस्य छन् । एमाले सांसद किशोरचन्द्र दुलाल भने विदा लिएर यसअघि नै अमेरिका गएका छन् ।

एमालेका सांसदहरु रोहिदबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवि ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदीले भोलिको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयमा दिएका छन् । अहिलेसम्म एमालेले ७ सांसदलाई अनुपस्थित गराउने हल्ला चलेपनि त्यो संख्या बढ्न सक्ने एमालेका एक सांसदले बताए । ती सांसदले भने, ‘९ जना सांसदलाई अनुपस्थित गराउने कुरा भएको छ ।’

मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी प्रस्ताव फेल गराउन एमाले र राप्रपाले यस्तो रणनीति बनाएका हुन् ।

सभामुखबिहीन रहेको कोशीमा अहिले उपसभामुख रहेकी सिर्जना दनुवारले सभा सञ्चालन गरिरहेकी छिन् । सभामुखले राजीनामा गरेका कारण अब अर्को सभामुख चयन नहुञ्जेलसम्म उपसभामुखले सभा सञ्चलान गर्नुपर्छ । तर, एमालेले आफ्ना सांसदलाई अनुपस्थित गराएर उपसभामुखलाई विदामा राख्ने तयारी गरेको चर्चा छ । किनकी उपसभामुख दनुवार एमालेबाट निर्वाचित सांसद हुन् ।

प्रदेशसभा सञ्चालन नियमावली २०७४ (पहिलो संशोधन) अनुसार सभामुख र उपसभामुखले सभा सञ्चालन गर्ने ‘संवैधानिक नियम’ भएपनि उनीहरूको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयनसम्बन्धी व्यवस्था छ । नियमावलीको नियम ११ को उपनियम १ मा उक्त व्यवस्था छ ।

जसअनुसार सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न समय–समयमा बढीमा पाँचजना सदस्यहरूलाई मनोनीत गर्न सक्नेछन् । उपदफा (२) मा उपसभामुख तथा उपनियम (१) बमोजिम मनोनयन गरिएको सदस्यले अध्यक्षता गरिरहेको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्नेछन् ।

यदि सोमबार बस्ने प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवार अनुपस्थित भए उक्त नियमावलीअनुसार सभाध्यक्ष मण्डलका सदस्यले सभा सञ्चालन गर्नुपर्ने हुन्छ ।

सभाध्यक्ष मण्डलका सदस्यहमा यसअघिनै चार जनाको मनोनयन भइसकेको छ । जसमा नेकपा एमालेकी मालती लिम्बू, कांग्रेसका इसराईल मन्सुरी, नेकपा माओवादी केन्द्रकी गीता तिम्सिना र राप्रपाका अम्बरबहादुर विष्ट छन् ।

यदि उपसभामुख विदामा बसेको अवस्थामा गठबन्धनबाट अध्यक्ष मण्डलमा सदस्य रहेका सांसदहरू कांग्रेसका मन्सुरी अथवा माओवादीकी तिम्सिनाले सभा सञ्चालन गर्नुपर्ने हुन्छ ।

किनकी अध्यक्ष मण्डलका विष्ट र लिम्बू भोलिको बैठकमा अनुपस्थित हुने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार