सांकेतिक तस्बिर
विराटनगर : नक्कली नोटसहित प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।
सुनसरीको रामधुनी नगरपालिका–१ हनुमान मन्दिरबाट साढे १७ हजार रुपैयाँका नक्कली नोटसहित ३७ वर्षीय रोशन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले चौधरीको साथबाट ५ सय रुपैयाँ दरका ३५ वटा नोट बरामद गरेको छ ।
शनिबार दिउँसो २ बजे स्थानीय विक्रम चौधरीले सञ्चालन गरेको थारु कटेजमा सोही ठाउँका रोशन चौधरीले खाजा खाएर पैसा तिर्ने क्रममा नक्कली पैसा दिएको प्रहरीलाई सूचना पुगेको थियो ।
उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो ।
उनलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पकली पठाइएको प्रहरीले जनाएको छ ।