उदयपुर : उदयपुरको चौदण्डीगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शुक्रबार चौदण्डीगढी नगरपालिका वडा नम्बर १० मा मदन भण्डारी स्मृति लोकमार्ग हुँदै गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको ना ६ त ६६१८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा धनुषाको मिथिला नगरपालिका ११ का १७ वर्षीय सुरज मगरको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका सोही ठाउँका १७ वर्षीय धिरन परियार, ४० वर्षीय बालकुमार आले मगर र १९ वर्षीय मिलन परियारको धरानमा उपचार भइरहेको उनले बताए ।
प्रहरीले ट्याक्टर चालक सोही ठाउँका २० वर्षीय प्रेम परियारलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ । तीव्र गतिमा रहेको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।