विराटनगर : जिल्ला कारागार सङ्खुवासभाका दुई जना कैदीको मृत्यु घटनाको स्थलगत अध्ययन गरेको इन्सेकले सुरक्षाकर्मीको यातनाबाट कैदीको मृत्यु भएको निष्कर्ष निकालेको छ ।
बिहीबार विराटनगरमा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इन्सेक कोशी प्रदेश कार्यालयले यस्तो निष्कर्ष निकालेको हो । खाँदवारी नगरपालिका १ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदीको साउन २४ गते मृत्यु भएको घटनामा इन्सेक कोशी प्रदेश कार्यालयले साउन २६ गतेदेखि २८ गतेसम्म स्थलगत अध्ययन र अनुगमन गरेको थियो ।
कारागारमा कैद भुक्तान गरिहेका सङ्खुवासभाकै मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका ७ का २८ वर्षीय विकास श्रेष्ठ भनिने आकाश बलामीको साउन २४ गते मृत्यु भएको घटनाको इन्सेक कोशी प्रदेश कार्यालयले स्थलगत अनुगमन गरेको थियो ।
स्थलगत अनुगमन टोलीले पीडित परिवार, सरकार प्रतिनिधि, प्रत्यक्षदर्शीका भनाइ, छानविन समितिका पदाधिकारी, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि, पत्रकारलगायतसँग भेट गरी घटनाको स्थलगत अध्ययन र अनुगमन गरी विराट फर्किएर प्रतिवेदन सार्वजनिक गरेको इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले बताए ।
थापाका अनुसार स्थलगत अध्ययन प्रतिवेदनका आधारमा दुई जना कैदीको भाग्न खोजेको आरोपमा कारागार सुरक्षामा खटिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि यातना दिएको र कारागारभित्र बुझाएपछि थप कुटपिटबाट कैदीको मृत्यु भएको आधारहरू भेटिएको छ ।
भाग्न खोजेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएका कैदीको अस्पतालमा मृत्यु भएको विषय शङ्कास्पद देखिएकाले इन्सेकले घटनाको स्थलगत अनुगमन गरेको थापाले बताए ।
इन्सेकले घटनामा संलग्न रहेका सुरक्षाकर्मीलाई तत्कालै अनुसन्धानको प्रक्रिया ल्याउन, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न, घटनाको निष्पक्ष र वस्तुनिष्ठ छानविन गर्न, कारागारको आन्तरिक प्रशासनका नियम कानुन मानव अधिकारमैत्री बनाउन, देशभरका कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी भएको विषयमा ध्यान पुर्याउन, कारागारमा स्रोत साधनको उचित व्यवस्था गर्नु र कागजमा सीमित खुला कारागारको अवधारणा कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।