विराटनगर : कोशी प्रदेशसभामा जेष्ठ सदस्यको सूचिको पहिलो नम्बरमा रहेका गयानन्द मण्डल उद्योग,कृषि तथा सहकारी राज्यमन्त्री बनेका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई बुधबार नियुक्ति गरेर पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकेका छन् ।
जटिल सदंसदीय अंकगणित रहेको प्रदेशसभामा सम्भावित जोखिम टार्न मण्डललाई चलाखीपूर्ण ढंगबाट गठबन्धनले राज्यमन्त्री बनाएको हो ।
संकटले ४७ सांसदको बहुमत जुटाएर मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेश सभामुखबीहिन रहेको र उपसभामुखले पनि राजीनामा दिँदा जेष्ठ सदस्यले सभा सञ्चलान गर्नुपर्ने बाध्यता आउन सक्ने भएकाले मण्डललाई मन्त्री बनाएका हुन् ।
सभामुख रहेका बाबुराम गौतमले थापाको पक्षमा बहुमत जुटाउन पदबाट राजीनामा दिएसँगै आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन् । उनी माओवादीका सांसद हुन् ।
प्रदेशमा एमालेकी सिर्जना दनुवार उपसभामुख रहेकी छिन् । सभामुखले राजीनामा गरेका कारण अब अर्को सभामुख चयन नहुञ्जेलसम्म उपसभामुखले सभा सञ्चलान गर्नुपर्छ । गठबन्धनले चलाखी गरेर जेष्ठ सदस्यलाई राज्यमन्त्री बनाएपछि एमालेले पनि उपसभामुखलाई राजीनामा गराउन सक्ने सम्भावना पनि उत्तिकै छ । त्यसो नभए मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन एमालेले उपसभामुखलाई विदामा राख्न सक्छ ।
यदि उपसभामुखको पनि राजीनामा आए प्रदेशसभामा रहेका सदस्यहरुमध्ये जेष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्छ । तर, गठबन्धनले यही कारण चलाखी गरेर त्यस्तो अवस्था आउन नदिन अगाडि नै मण्डललाई मन्त्री बनाएको हो ।
मण्डलपछिका ज्येष्ठ सदस्य एमालेका रोहितबहादुर कार्की छन् । यदि जेष्ठ सदस्यले सभा सञ्चालन गर्नुपर्ने अवस्था आए एमालेले कांग्रेसभन्दा खघि रहेका आफ्ना सदस्यलाई अनुपस्थित गराउने हल्ला पनि चल्न थालेको छ । कार्की ७१ वर्षका भए । तेस्रो नम्बरमा राप्रपाका ६८ वर्षीय अम्बरबहादर बिष्ट छन् । राप्रपा पनि एमालेसँगै रहेकाले जेष्ठ सदस्यलाई अनुपस्थित गराउन सक्छ ।
यी हुन् प्रदेशसभामा ६० वर्ष नाघेका सांसद :
१. गयानन्द मण्डल, नेपाली कांग्रेस (७९)
२. रोहिक बहादुर कार्की, नेकपा एमाले (७१)
३. अम्बरबहादुर बिष्ट, राप्रपा (६८)
४. मालती कुमारी लिम्बू, नेकपा एमाले (६७)
५. रामप्रसाद महातो, नेकपा एमाले (६७)
६. तारादेवी ढकाल, नेकपा एमाले (६६)
७. खड्गबहादुर बस्नेत, नेकपा एमाले (६६)
८. किशोर चन्द्र दुलाल, नेकपा एमाले (६५)
९. गोपाल बहादुर विश्वकर्मा, राप्रपा (६५)
१०. उद्धव थापा, नेपाली कांग्रेस (६४)
११. कमलप्रसाद जगेबु, नेकपा एस (६४)
१२. ज्ञानेन्द्र सुवेदी, नेकपा एमाले (६४)
१३. अमृत कुमार अर्याल, नेपाली कांग्रेस (६३)
१४. लिला कुमारी राई, नेपाली कांग्रेस (६२)
१५. नम्बरलाल धिमाल, नेकपा एमाले (६२)
१६. गोविन्द गिरी, नेपाली कांग्रेस (६३)
१७. रामदेव यादव, नेकपा एमाले (६१)
१८. शीला दिक्षित कार्की, नेकपा एमाले (६१)
१९. भक्ति सिटौला, राप्रपा (६१)
२०. एकराज कार्की, नेकपा एमाले (६०)
२१. रामबहादुर राना, नेकपा एमाले (६०)
२२. प्रेमराज थामसुहाङ, राप्रपा (६०)
यसरी हेर्दा पहिलो नम्बरका मण्डल राज्यमन्त्री बनेसँगै दोस्रोदेखि १२ औं नम्बरसम्ममा एमाले र राप्रपाका सांसद छन् । जेष्ठ सदस्यको दशौं र एघारौं नम्बरमा रहेका कांग्रेसका क्रमशः उद्धव थापा मुख्यमन्त्री र नेकवा एसका कमलप्रसाद जगेबु भौतिक पूर्वाधार मन्त्री बनिसकेका छन् । उनीहरुपछि १२ औँ नम्बरमा एमालेका ज्ञानेन्द्र सुवेदी छन् । यदि विश्वासको मत लिने दिन एमाले र राप्रपाले आफ्ना जेष्ठ सदस्यलाई अनुपस्थित गराए जेष्ठ सदस्यको १३ औँ नम्बरमा रहेका कांग्रेसका अमृत कुमार अर्यालले सभा सञ्चालन गर्नुपर्नेछ ।
यस्तो अवस्था आए मुख्यमन्त्री थापाले ४६ मत मात्र प्राप्त गर्नेछन् र यो सरकार ढल्छ । त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्छ । प्रदेशसभामा एमाले ठूलो दल हो । त्यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत पाएन भने पुनः सरकार ढल्छ ।