विराटनगर : विराटनगर महानगरपालिका वडा नम्बर ८ का २२ वर्षीय महमद हलिममाथि खुलेआम तरबार प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न रहेको आरोपमा विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६ का २४ वर्षीय अशोक अन्सारीलाई प्रहरीले पक्राउ गरिएको हो ।
विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रनजिकबाट बुधबार बिहान २ बजेतिर उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलले बताए ।
पोखेरलका अनुसार पक्राउ परेकाहरुविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
तरबार प्रहारबाट गम्भीर घाइते भएका हलिमको अहिले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइहेको छ । उनको दुवै हातमा गहिरो चोट लागेको छ ।
उनीमाथि गत सोमबार दिउसो २ बजेतिर विराटनगर–१० सन्सारीमाईस्थाननजिकै तरबार प्रहार भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा आठजनाको संलग्नता देखिएको छ । फरार रहेका ६ जनाको खोजीका लागि मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली परिचालन गरेका छन् ।