Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको बेलबारीमा जलाउँदै गरेको शव बाढीले बगाएपछि….



तस्बिर : सामाजिक सञ्जालबाट

विराटनगर : मोरङको बेलबारीमा जलाउँदै गरेको शव बाढीले बगाएको छ । शनिबार दिउँसो बेलबारी नगरपालिका–३ की लीला माया कोइरालाको शव अन्तिम दाहसंस्कारका लागि लोहान्द्रा खोलामा लगिएको थियो ।

खोलामा जलाउँदै गरेको शव बाढीले बगाएको हो । दागबत्ती दिएर जलाउने क्रममा खोलामा आएको बाढीले शव बगाएपछि मलामीको समेत भागाभाग भएको थियो ।

बाढीले बगाएको शव प्रहरी र स्थानीयले खोजेर आफन्तलाई जिम्मा लगाएका थिए । त्यसपछि पुनः अन्तिम संस्कार गरिएको थियो ।

दाहसंस्कारका गर्दै गर्दा शव बाढीले बगाएपछि यतिबेला बेलबारीमा स्थानीय सरकारप्रति चर्को विरोध जनाइरहेका छन् । व्यवस्थित घाट नभएका कारण घटना घटेको स्थानीयको आरोप छ ।

यता बेलबारीका नगर प्रमुख दीलप्रसाद राईले अन्तिम संस्कार गरिरहँदा बाढीले शव बगाएको अत्यन्त दुखद् खबरले मर्माहत बनाएको भन्दै घाट बनाउन बजेटको व्यवस्था गरेको बताएका छन् ।

राईले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यो आर्थिक वर्षमा घाट निर्माण गर्नका लागि ७० लाख बजेट विनियोजना भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सबैको सहभागितामा योजना सफल गरेर फेरि यस्तो घटना रोकौँ । मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना ।’

प्रतिक्रिया
सम्बन्धित समाचार