विराटनगर : मोरङको रतुवामाई नगरपालिकाका मेयरलाई गाली गलौज गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रतुवामाईका मेयर नागेश्वर सिंहलाई फेसबुकमा गाली गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिजुवाले वडा नम्बर ४ का सुनिलकुमार सिंहलाई पक्राउ गरेको हो ।
सिजुवाका प्रहरी निरीक्षक ढुन्डीराज गिरीले मेयरलाई फेसबुकमा गाली गरेपछि पक्राउ गरेको बताए । उनले भने, ‘मेयर सावविरुद्ध फेसबुकमा विभिन्न कुराहरु लेखेको भनेर कुरा आएपछि हामीले पक्राउ गरेर ल्याएका छौँ ।’
सिंहले के लेखेको भन्ने विषयमा आफूहरु जानकार नभएको उनले बताए । ‘स्टाटस डिलेट गरिसकेकाले के लेखेको थियोे भन्ने कुरा हामीलाई थाहा छैन्,’ गिरीले भने, ‘मेयरले भनेपछि पक्राउ गरे अनुसन्धान गरिरहेका छौँ।’
प्रहरी स्रोतका अनुसार मेयर नागेश्वर सिंहले पक्राउ गरेर ल्याउन निर्देशन दिएपछि सुनिललाई बुधबार बिहान पक्राउ गरिएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।