विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाको पकलीमा पिकअप र मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।
शुक्रबार राति करिब ११ बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको पकलीमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटना भएको मोटरसाइकलमा चार जना सवार थिए ।
प्रहरीका अनुसार भारतीय नम्बर रहेको डब्लु बी ७३ इ ९११७ को पिकअपसँग को २९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकलमा सवार चारै जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारका क्रममा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पिकअप चालक भारत दार्जिलिङ फोडिगढी बस्ने ३२ वर्षीय गोविन्द वरमुनलाई इलका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।