विराटनगर : सुनसरीको तरहराको जंगलमा गोली प्रहार गरी विराटनगरका एक युवाको हत्या भएको छ ।
शुक्रबार सुनसरीको धरान–इटहरी सडक खण्डको तरहरा जंगललमा विराटनगर महानगरपालिका-५ का २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या गरिएको हो ।
धनकुटाबाट विराटनगर तर्फ जाँदै गरेका चौधरीमाथि अज्ञात समूहले तरहराको चारकोशे जंगलमा गोली प्रहार गरी लुटपाट गरेको प्रहरीले जनाएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिए ।
घटनाको अनुसन्धान भइरहेको उनले बताए । गोली प्रहार गरेको कारण नखुलेको उनको भनाइ छ ।
उनको दायाँ कोखामुनि गोली लागेको प्रतिष्ठानका चिकित्सकले जानकारी दिएका छन्। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले बताएको छ ।