विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १९ का लालबहादुर विश्वकर्माको न्याय माग गर्दै प्रदर्शन गरिएको छ । बुधबार लालबहादुरका आफन्त र अन्य स्थानीयले न्यायको माग गर्दै इटहरीमा प्रदर्शन गरेका हुन् ।
तरहरास्थित सिंहदेवी ज्वेलर्समा कालीगढका रूपमा काम गर्दै आएका लालबहादुर करिब आठ महिनादेखि झुम्का कारागारमा छन् । उनीविरुद्ध ठगीको आरोप छ ।
उनलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिवाना र १८ महिना जेल सजाय सुनाइएको छ ।
अदालतमा २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको मुद्दा परेपछि कालिगढको रुपमा काम गरेका लालबहादुरलाई पनि विपक्षी बनाइएको छ । उक्त मुद्दामा २०७८ पुस १९ गते फैसला आयो । फैसलामा १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम भयो भने उनलाई ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो, ७० हजार जरिमाना र तीन वर्ष जेल सजाय सुनाइएको छ ।
उक्त मुद्दामा ज्वेलर्सका संचालक तथा मुख्य प्रतिवादी दिपक गजमेर छन् भने अन्य प्रतिवादीमा सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा, कमल विश्वकर्मा र उनै लालबहादुर बिक छन् ।
तर, लालबहादुर निर्दोष रहेको र कुनै कारोबारमा संलग्न नभएको भन्दै प्रमुख प्रतिवादीदेखि अन्य प्रतिवादी र जाहेरीवाला ७२ जनाले अदालतमा बकपत्र दिँदासमेत लालबहादुरको पक्षमा कुनै सुनुवाइ भएको छैन् ।
जिल्ला अदालत सुनसरीको फैसलाले लालबहादुर अन्यायमा परेको भन्दै पुनरावेदन दिए पनि सुनवाइ नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
उच्च अदालतमा पटकपटक मुद्दा पेसीमा चढेपनि धेरैपटक हेर्न नमिल्ने र स्थगित हुने भएकाले लालबहादुरको मुद्दामा सुनुवाइ सर्दै आएको छ ।