Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरको बजार अनुगमन प्रभावकारी बनाऊ


  • Purbeli Press
  • सोमबार, साउन १ २०८०

दैनिक उपभोग्य वस्तु खरिदका लागि भारतको जोगवनी जाने नेपाली उपभोक्तालाई आजबाट रोक लगाइएको छ । विराटनगर महानगरपालिकाले विराटनगरको बजारलाई प्रवद्र्धन गर्ने भन्दै सीमा नाकामा कडाइ सुरु गरेको छ । अब भारतीय बजारबाट एक रुपैयाँको सामान खरिद गर्दा पनि भन्सार शुल्क तिर्नुपर्नेछ । स्थानीय बजारलाई प्रवद्र्धन गर्न महानगरले चालेको यो कमद केही हदसम्म त ठिक छ । तर, सस्तो मूल्यमा भारतीय बजारमा सामान खरिदबिक्री गरिरहेका उपभोक्तालाई विराटनगरमा भने बढी शुल्क तिरेर उपभोग्य वस्तु खरिद गर्नुपर्ने बाध्यता छ ।

त्यसो त नेपालका व्यापरीहरु पनि विभिन्न वहानामा उपभोक्ताको ढाड सेक्नेगरी मूल्य बढाइरहन्छन् । त्यहीमाथि भारतीय बजार जान रोक लगाउँदा यो प्रवृत्ति मौलाउँदैन भन्नेमा विश्वास गर्न सकिँदैन् । खुल्ला बजार अर्थतन्त्रलाई अवलम्बन गरेको नेपालले स्वस्थ बजार प्रतिस्पर्धा गर्न सकिरहेको छैन् । अझै पनि साना व्यापरीहरु मारमा नै छन् । मनपरी शुल्क बढाउने, कालोबजारी गर्ने बजारमा एकाधिकार जमाउनेमा केही ठूला व्यपारीनै पर्छन् । कतिले र शक्ति र पहुँचको भरमा कालोबजारी मौलाइरहेका छन् । यो एउटा सोचनीय विषय हो ।

महानगरपालिकाले भारतीय बजार जानका लागि रोक लगाएर विराटनगरको बजार प्रवद्र्धन गर्ने भनिरहँदा प्रभावकारीरुपमा बजार अनुगमन गर्न ध्यान दिन अतिआवश्यक छ । व्यवस्थित बजार, गुणस्तरीय सामानको सुनिश्चितताका लागि बजार अनुगमन गर्नैपर्छ । कालोबजारी नियन्त्रणमा पनि अग्रसर भएर काम गर्नुपर्छ । मूल्यमा समानता ल्याउनुपर्छ ।

बजारलाई स्वस्थ र स्वच्छ तुल्याउन, आमउपभोक्ताहरूको हितको संरक्षण गर्न एवं उपभोग्य वस्तुहरूको सहज उपलब्धता सुनिश्चित गर्न नियमितरूपमा बजार अनुगमन गर्नु महानगरको दायित्व हो । किनकि जनतासँग प्रत्यक्ष जोडिएको र नजिकको सरकार भएका कारण पनि स्थानीय तहले यस्ता विषयमा ध्यान दिनुपर्छ । विराटनगरका मेयर नागेश कोइरालाले भनेजस्तै स्थानीय बजारलाई प्रवद्र्धन गरी बजारलाई प्रभावित हुन नदिन महानगरले उपभोक्तालाई यतै सामान किन्न सक्ने वातावरण पनि सिर्जना गरिदिनुपर्छ । उपभोक्ताको हक संरक्षणका लागि चुस्तरूपमा बजार अनुगमन गर्नु स्थानीय सरकारको जिम्मेवारी पनि हो । स्वस्थ बजार प्रतिस्पर्धाको वातावरण निर्माणका लागि अनुगमनकर्ताको रूपमा जिम्मेवार रहेको सरकारको प्रभावकारी भूमिका आवश्यकता पर्दछ ।

यदि महानगरले भारतीय बजारमा रोक लगाएर विराटनगरमा अनुगमन नगर्ने हो भने बजारमा अनेकौँ विकृति बढिरहने छन् । विकृत बजारको मारमा उपभोक्ताहरू प्रताडित बन्नेछन् ।

जस्तै उदाहरणका लागि जोगवनीमा चिनीको प्रतिमूल्य ६०–७० रुपैयाँसम्म पर्छ । तर, नेपालमा त्यही चिनीलाई ९०–१०० रुपैयाँमा खरिद गर्न नेपाली उपभोक्ता बाध्य छन् । खाना पकाउने तेलको मूल्यमा पनि प्रतिलिटर २० देखि ५० रुपैयाँसम्मको फरक छ । अझ नियामक निकाय सुस्त हुँदा त बजार महँगो हुन्छ भन्नेमा कुनै शंका छैन । यसतर्फ सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी छ । त्यसैले महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रश्न छ, पहिला विराटनगरको बजार व्यवस्थित बनाएर मात्र भारतीय बजार जान रोक लगाउने कि ? अनि बेलाबेलामा प्रभावकारी रुपमा अनुगमन पनि गर्ने कि ?

प्रतिक्रिया
सम्बन्धित समाचार