Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेबाट कारबाहीमा परेका तत्कालीन मोरङ सचिव खतिवडा भन्छन्: जिम्मेवारी पाउने आशामा छु



विराटनगर : पार्टी नेतृत्वसँग असन्तुष्टि जनाउँदै गत असोज २२ मा नेकपा एमाले मोरङ जिल्ला कमिटीको सचिव पदबाट राजीनामा दिएका रुपेश खतिवडा पार्टीले कारबाही गरेपछि लामो समय भूमिका विहीन बने ।

मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमाले मोरङका तर्फबाट उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति सिद्धान्त र विधिविपरीत केही व्यक्तिको स्वार्थ अनुकुल भएको भन्दै उनले राजीनामा दिएका थिए । त्यसको केही दिनमै जिल्ला कमिटीले उनको राजीनामा स्वीकृत गर्दै कारबाही गरेपछि उनी लामो समय राजनीतिबाट टाढा रहे ।

खतिवडाले अझै पनि पार्टीले जिम्मेवारी दिन्छ भन्ने आशामा आफू बसको प्रस्टीकरण दिएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमा लेख्दै खतिवडाले पदबाट राजीनामा दिएपछि आफू कसैको खोजीको पात्र नभएको भन्ने गुनासो पोखेका छन् ।

आफूबाट भएका कमीकमजोरी आत्मा आलोचना गर्न तयार रहेको उनले बताए । उनले भनेका छन्, “होला मेरो पनि कमिकमजोरी भए म आत्माआलोचना  गर्न तयार नै छु। तर मैले पार्टीको हित बिपरित आजसम्म कहि कतै केहि बोलेको  छैन र बोल्ने पनि छैन ।  सिर्फ मैले जिल्ला सचिवबाट राजीनामा मात्रै दिएको हु।”

३२ वर्ष पार्टीको काममा लागेको बताउँदै उनले प्रश्न गरेका छन्, हेरौं  मोति दुगड, दुर्गा प्रसाइ , नवराज सिलवाल, सर्बेन्द्र खनाल, कोमल ओली, टोपबहादुर जस्तालाई नेता बनाउन सक्ने नेतृत्वले कसो मलाई सिपाहीको जिम्मेवारी नदेला?

खतिवडाले लेखेको स्टाटस् :
मैले यस अघि नै अव म बोल्छु भनेको थिए तर  बोलिन। आज बोल्दै छु । यो मेरो अन्तस्करणको अभिव्यक्ति हो। मलाई कुनै ईष्र्या, डाहा, आरिस हैन मेरा कार्यकर्ताहरु आज  दर्जनौं सांसद र केहि मन्त्री पनि हुन सफल भएका छन् ।  म धेरै खुसि छु। 

मेरो श्रद्देय अध्यक्ष केपी ओलीसँग पनि नजिकैको सम्बन्ध थियो   धेरै दिन उहाँको प्रस्तावमा पुर्वान्चलसंगै भ्रमण पनि गरेका थियौ  । गुटको भेला बैठक राख्दै हिड्यौ पनि। यो कुरा केन्द्र र जिल्ला सबैलाई थाहा भएकै कुरा हो ।तर आज म कसैको खोजिको बिषय बनेको छैन ।

होला मेरो पनि कमीकमजोरी भए म आत्माआलोचना गर्न तयार नै छु। तर मैले पार्टीको हित विपरीत आजसम्म कहि कतै केहि बोलेको  छैन र बोल्ने पनि छैन ।  सिर्फ मैले जिल्ला सचिवबाट राजीनामा मात्रै दिएको हु। मेरो अहिले  पार्टी सदस्यता  नवीकरण भैसकेको छ भन्ने मैले जानकारी  प्राप्त गरेको  छु । बिराटनगर ३ न वार्ड बाट ।

निर्वाचन ताकाको मेरो असन्तुष्टि यो हो कि म पार्टी जिल्ला सचिव मलाई महत्वपूर्ण निर्णयमा सहभागी हुने अवसर पाइन भन्ने नै हो। त्यो मेरो यानिकि सचिबको जिम्मेवारी निर्बाह गर्न पाइन या दिइएन भन्ने हो । त्यसका लागि एउटा छलफल माग मात्रै मैले गरेको हो । जुन मैले लिखित पार्टी कार्यलयमा दर्ज गरेको छु। कमरेड गुरु बरालले मङ्सिर १५ पछि  छलफलमा तपाईं लाई बोलाइन्छ भन्नु भएको थियो  त्यसको अडियो रेकर्ड पनि म सँग छ। तर आज  छलफल हैन मलाई कार्वाही गरेको प्रचारबाजी गरियो । म अहिलेसम्म मौन छु, आसावादि पनि छु। हेरौं मेरो ३२ बर्ष को जवानिको उर्जासिल समयको कदर यो पार्टीले गर्छ कि गर्दैन ? श्रद्देय अध्यक्ष केपि ओलीले बिगतमा मैले उहाँको समिपमा रहेर गरेको कामको हेक्का राख्नुहुन्छ कि हुदैन ? धेरै आकर्षक प्रस्ताव आउँदा पनि म ति प्रस्तावलाई  वेवास्ता  गर्दै मेरा सुभचिन्तक र मेरो पार्टी भनेर अझै केहि समय धैर्य गरेर बस्ने छु। मिसन ग्रासरुट आयो गयो, अब मिसन ८४ आउदैछ भन्ने सुनेको छु।  एमालेमा मेरो बुवा आमा सहित १३ जनाको परिवार पार्टी सदस्यको हैसियतबाट बिगत ३० बर्ष देखि लेवि तिर्दै यो पार्टीमा आबद्ध छौं । मैले राजनीतिकै क्रममा दुईवटा विषयमा मास्टर्स डिग्री गरेर शिक्षा छेत्रमा संलग्न पनि भइरहेको छु।  हेरौं  मोति दुगड, दुर्गा प्रसाइ , नवराज सिलवाल, सर्बेन्द्र खनाल, कोमल ओली, टोपबहादुर जस्तालाई नेता बनाउन सक्ने नेतृत्वले कसो मलाई सिपाहीको जिम्मेवारी नदेला?

यो सबै तपाईं यो पार्टीमा चाहिन्छ  भनि मलाई साहानुभुति राख्ने हरुकालागी समर्पित गरेको हु अन्यथा नलिनु होला। अभिवादन !

प्रतिक्रिया
सम्बन्धित समाचार