Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बससँग ठोक्किएर दुर्घटना हुँदा सप्तकोशीमा खस्यो ट्रक



विराटनगर : बस र ट्रक एक आपसमा ठोक्किँदा ट्रक सप्तकोशी नदीमा खसेको छ । शुक्रबार बिहान सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलमा ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा ट्रक नदीमा खसेको हो।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको हो। यात्रु लिएर काँकडभिट्टाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको बससँग ठोक्किएर ट्रक सप्तकोशी नदीमा खसेको छ।

ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा ब्यारेजको १० नम्बर ढोकाको बार भत्किएको छ। बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि पठाइएको छ। अन्य २ जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । बसका सवार रहेकाहरु भने सकुशल छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार