Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मृत्युलाई उडाउनेहरू !



प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहालको निधन भएपछि सामाजिक सञ्जालमा मानवीयता, संवेदनशीलता, संस्कार र नैतिकता साथै इमान्दारिताका कोणबाट धेरै प्रश्नहरु उठे । तर, एउटा कुरा इमान्दारितापूर्वक भन्नुपर्दा सीता दाहाल नेकपा माओवादीले सुरु गरेको जनयुद्ध, परिवर्तनको एजेन्डामा सतिसाल जत्तिकै उभिएकी महिला हुन् । उनको जीवनशैली, रहनसहन र बोलीचाली सामान्य व्यक्तिकै सरह थियो । उनलाई सादा जीवनकी एउटा असल संघर्ष शील नारी भन्दा फरक पर्दैन । त्यसैले पनि उनको निधनमा भावविह्वल हुने थुप्रै भए । साच्चै भन्नुपर्दा उनी एउटा असल योद्धा थिइन् । यसैले पनि उनीप्रति भाव पूर्ण श्रद्धान्जली ।

अब यहाँ प्रसंग उनको मृत्युपछि सामाजिक सञ्जालमा विगतमा माओवादीको युद्धसँग जोडेर कसैले धार्मिकतासँग जोडेर, कसैले सांसदले व्यक्त गरेको विचारसँग जोडेर र कसैले श्रद्धान्जली दिँदा फोटो खिचेको विषयलाई लिएर धेरै मानवीयता, संवेदनशीलता, संस्कार र नैतिकताको कुरा उठाए ।

हाम्रो समाजमा आफूले गरेर धेरै कुराहरु जायज लाग्छन् र अरुले गरेका कुराहरु नाजायज लाग्छन् । भित्री यथार्थ र विगतलाई बिर्सिएर वर्तमानमा उभिएर मात्रै लहडमा रही प्रतिक्रिया जनाउँछौँ । साच्चै हिजो यसरी नै प्रतिक्रिया आए । प्रतिक्रिया दिनेहरूले पनि संयमित भएर दिनुपथ्र्यो । र कतिपयले संस्कार भुलेर दिएको प्रतिक्रियालाई समय आएपछि समीक्षा गर्न सकिन्थ्यो । तर, यहाँ हिजो नाबालक बच्चाहरूसँग सुतिरहेका बाउलाई थुतेर बिहानै खेतबारीमा सुराकी भन्दै हत्या गरेर फाल्ने, सरकारकी जागिरमा रहेकाहरु आफ्नी बुढी घरमा बिरामी हुँदा भेट्न आउँदा बाटैमा रेट्नेहरू, व्यवस्थाको विरोधमा लागेका बाबुआमाका छोराछोरीलाई आतंककारी भन्दै हत्या गर्ने, मानौ मानिसको मृत्यु र पशुको मृत्यु एउटै ठान्नेहरूको अर्ति र उपदेश दिनभरी आयो । त्यसैले हामी हरेक मृत्युमा संवेदनशील बनौं । भावुक बनौं । र उनीहरुप्रति सम्मान गरौ ।

तर, यसरी उपदेश दिनेहरूले विगतलाई पनि स्मरण गर्नुपर्छ । सामाजिक सञ्जालमा आइरहेका कतिपय विषयहरूले समाजका अगुवाहरुलाई झस्काइरहेको छ । आज प्राथामिक तहबाट नै नैतिक शिक्षाको जरुरी भएको छ । हिजोको जस्तो नैतिक शिक्षाका विषयहरु आज विद्यालयमा हुन छाडेका छन् । यस्ता विषयमा हामी जिम्मेवार तहका मानिसहरुले सोच्नुपर्ने अवस्था आएको छ । हाम्रो सामाजिक बनोट के हो ? हाम्रो संस्कार के हो ? हाम्रो मौलिक पहिचान के हो ? हाम्रो सामाजिक सद्भाव के हो ? यी सबै विषयमा हामीले हाम्रा बालबालिकालाई सिकाउनु जरुरी भइसकेको छ । हुनत यहाँ जान्नेबुझ्नेहरुबाट नै नियतबस प्रश्नहरु उठाइन्छ र बाटो बिराइन्छ ।

पछिल्लो समयमा सबै कुराहरु बेलिविस्तार नबुझिकन प्रतिक्रिया दिने सबै मानिसलाई एकै नजरले हेर्ने बानीले हाम्रो समाजलाई सही ढंग डोर्याउन सकेको छैन् । यसतर्फ सचेत हुन जरुरी छ । सीता दाहालको निधनबाट अनेकौँ प्रश्नहरु उब्जाउने मानवता विद्वानहरुले अहिले उठेका विषयमा सोचुन । उनका सही विचार र उनले एउटा नारी भएका नाताले घर व्यवहार थाम्दै देशमा आमूल परिवर्तन ल्याउनका लागि गरेको योगदानलाई सम्झिउन । यसो गर्न सकेमात्र सीता दाहालप्रति सच्चा श्रद्धान्जली हुनेछ । देश परिवर्तनमा खेलेको भूमिका सदा स्मरणीय रहने छ । दाहाललाई भावपूर्ण श्रद्धान्जली !

प्रतिक्रिया
सम्बन्धित समाचार