विराटनगर : जिल्ला कारागार मोरङका एक कैदीबन्दीको मृत्यु भएको छ । बिहीबार विराटनगरको हाटखोलास्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका मोरङको पथरीशनिश्चरे नगरपालिका–३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको हो ।
उनी कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका थिए । आज बिहान ९ बजेतिर अचानक बिरामी परेर बेहोस भएपछि दमाईलाई उपचारका लागि कोशी अस्पताल लगिएको कारागारका जेलर कृष्ण खड्काले जानकारी दिए ।
उपचारका क्रममा चिकित्सकले १० बजेतिर मृत घोषित गरेको खड्काले बताए। उपचारमा संलग्न चिकित्सकले उच्च रक्तचापका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन्।
जेलर खड्काका अनुसार दमाईलाई खुट्टा सुन्निने, छात्ती दुख्नेलगायत स्वास्थ्य सम्बन्धी पुरानै समस्या थियो। यसअघि पनि पटक–पटक उपचारका लागि लैजाने गरिएको उनले बताए।
कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार दमाई गत वैशाख ७ गतेदेखि पुर्पक्षका लागि कारागार चलान भएका थिए। तीन सय जनाको क्षमता रहेको मोरङ कारागारमा हाल महिला र पुरुष गरेर १ हजार ५२ जना कैदी बन्दी रहेको जेलर खड्काले बताए।