Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

वडा अध्यक्ष राउत रिहा



विराटनगर : महिलालाई हातपात गरेको आरोपमा पक्राउ परेका उदयपुरको चौदण्डीगढी नगरपालिका ९ का वडाध्यक्ष प्रकाश राउत रिहा भएका छन् ।

शनिबार सोही वडाकी ३९ वर्षीया सुनिता श्रेष्ठलाई हातपात गरेको आरोपमा पक्राउ परेका राउत आज दिउँसो रिहा भएका हुन् ।

सूर्योदय सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र पर्ने छिडी खोलामा वडाध्यक्ष राउतले ०८० असार २२ गते स्काभेटर र टिपरको प्रयोग गरी अवैध रूपमा गिट्टी निकासी गर्दा आफूले विरोध गर्दा वडा अध्यक्षले हातपात गरेको भनि प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा राउतलाई शनिबार इलाका प्रहरी कार्यालय वेल्टारले पक्राउ गरेको थियो ।

यता, वडा अध्यक्ष राउतले भने आफूले ती महिलालाई हातपात नगरेको बरु उल्टै पीडित भनिएकी महिलाले आफूलाई कुटपित गर्न खोजेपछि आफू भागेको बताएका छन् ।

‘सडक कालोपत्रेको काम चलिरहेको बेला बर्खाका कारण बालुवा अभाव भएपछि हामीले मेयर सावसँग सल्लाह गरेर खोलाबाट बालुवा निकाल्ने तयारी गर्दै थियौं,’ पूर्वेलीप्रेससँग उनले भनेका थिए, ‘एक्कासी उहाँ (पीडित महिला) आएर भिडियो खिच्न थाल्नुभयो, मैले भिडियो नखिच्न अनुरोध गर्दै वास्तविकता सुनेर मात्रै भिडियो खिच्न आग्रह गर्दै थिए, उल्टै उहाँले मलाई चप्पल खोलेर हान्न थालेपछि म भागेँको हु ।’

नेकपा एमाले उदयपुरले आफ्नो जनप्रतिनिधिलाइ सत्ता र शक्तिको दुरुप्रयोगमा नेपाली कांग्रेसले नियोजित रुपमा फसाएको भन्दै पत्रकार सम्मेलन गरी आपत्ति जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार