विराटनगर : उदयपुरको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राईले ६ महिनाअघि बिबाह गरे । नम्बरसँग भोजपुरको रामप्रसाद राई गाउँपालिका ८ घर भएका व्यक्ति ३१ वर्षीय राजु राईको बिबाह भएको थियो ।
झट्ट हेर्दा पूर्ण रुपमा महिला देखिने राजु वास्तवमा भने पुरुष भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । आफूले बिबाह गरेको श्रीमती महिला नभई पुरुष भएको थाहा पाएपछि नम्बरले बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका छन् ।
राजुलाई युवती सम्झेर नम्बरले ६ महिनाअघि प्रेम विवाह गरेर घर भित्र्याएका थिए । ६ महिनासम्म केही सुइँको नपाएका नम्बरले श्रीमती पुरुष भएको भन्दै राजुलाई इलाका प्रहरी कार्यालय रामपुरमा बुझाएका छन् ।
यता, प्रहरीले भने छलफलको तयारी गर्दैैगर्दा राजु अस्वस्थ्य भएपछि उपचारका लागि धरान पठाइएको जनाएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार शरीर, पहिरन हुलिया सबै हेर्दा पूर्ण महिला देखिए पनि अनुसन्धान गर्दा उनी पुरुष प्रमाणित भएको जानकारी दिए । ‘लामो कपाल, नाक कान छेँडेर गहना लगाएको, शारीरिक बनौट र पहिरनले पुरुष हो भन्ने कतै शंका गर्ने ठाउँ छैन,’ ती प्रहरीले भने ।
बिबाह गरेको ६ महिनासम्म पनि सँगै बस्न नमान्ने गरेपछि गोप्य अंग हेर्दा श्रीमती महिला नभएर पुरुष भएको ठहर भएपछि श्रीमानले प्रहरीमा उजुरी दिएका हुन् ।
प्रहरी स्रोतका अनुसार महिलाको भेषमा राजुले ठगी गर्न बिहेको नाटक गरेको हुनसक्ने अनुसन्धानबाट खुलेको छ । स्रोतका अुनसार राजुले प्रेमको नाटक गरेर नम्बरबाट पैसा लिने गरेका थिए ।
श्रीमतीको नाटक गर्ने राजुले नम्बरको २ लाख ७० हजार रकम हिनामिना गरेको परिवार स्रोतले बताएको छ ।