विराटनगर : ताप्लेजुङको सिदिंवा गाउँपालिका–६ मेहेलेको मुकुभञ्ज्याङमा पहिरो जाँदा बाबु छोराको मृत्यु भएको छ । सोमबार बिहान पहिरोमा परीबाबु केशरबहादुर राई र छोरा सुरेश राईको मुत्यु भएको हो।
योसँगै ताप्लेजुङमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
मुकुभञ्ज्याङमा पहिरोमा परी रामकुमार राई पनि गम्भीर घाइते भएका छन् । रामकुमारको अवस्था चिन्ताजनक रहेकाले उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर इटहरीबाट मेहेलेतर्फ प्रस्थान गरेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी राजन लिम्बूले जानकारी दिए ।
गम्भीर घाइते रामकुमारलाई स्थानीय निलगिरी माध्यमिक विद्यालयसम्म लैजाँदै गरेको स्थानीय राजेश कँडेलले जानकारी दिए । स्थानीय कमल कडरियाका अनुसार सो क्षेत्रमा खाद्यान्न समेत अभाव भएको छ । हिजोदेखि नै स्थानीय पहिरोको जोखिमका कारण घर छाडेकाले खानाको समेत अभाव भएको उनले बताए ।