ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल
विराटनगर : कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा अविरल वर्षासँगै आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको छ । शनिबार रातिदेखि परेको लगातार वर्षाका कारण आएको बाढी र पहिरोबाट हालसम्म पाँच जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् ।
बाढीपहिरोमा परी ताप्लेजुङमा तीन, पाँचथरमा दुई, संखुवासभा एक जनाको मृत्यु भएको छ । धनकुटाको छथर जोरपाटी–४ तेलियास्थित तमोर नदी किनारमा आइतबार साँझ एक महिलाको शव समेत फेला परेको छ ।
बाढीपहिरोले संखुवासभा, पाँचथर र ताप्लेजुङ जिल्लामा ठूलो क्षति पुर्याएको छ । बाढीपहिरोमा परेका २८ जना अझै बेपत्ता छन् ।
संखुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता भएका छन् ।
चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले हेवा खोला थुनिएपछि बाढी आएको हो । हेवा खोलाको बाढीले पाँचखपन नगरपालिका–९ का सन्तोष राईको मृत्यु भएको छ । बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोपावर बगाउँदा हाइड्रोपावर काम गर्ने १८ मजदुरहरू सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने मोटरेबल पुल पनि बगाएको छ । यस्तै सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता छन् ।
उक्त क्षेत्रमा आइतबार कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो, प्रदेश सदस्य विदुर लिङ्थेप, सेनाका पृतनापति आशबहादुर तामाङ, सशस्त्रका डीआईजी अन्जनी पोखरेललगायतले हेलिकोप्टरबाट प्रभावित क्षेत्र निरीक्षण गरेका थिए ।

यस्तै पहिरोमा पुरिएर ताप्लेजुङ मेहेले–६ का ३० वर्षीय गणेश तामाङको मृत्यु भएको छ । उनको आइतबार बिहान खोजी गर्ने क्रममा शव भेटिएको प्रहरीले जनाएको छ । गणेशको घरमा भने पहिरोले क्षति पुर्याएको छैन । पहिरोबाट जोगिन सुरक्षित स्थान जाने तयारी गर्दैगर्दा उनी पहिरोमा परेका थिए ।
सोही स्थानमा पहिरोले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बाढीपहिरोले जिल्लाभर ५१ घर जोखिममा छन् । जिल्लाभरमा तीन पक्की पुल र पाँच झोलुंगे पुलमा क्षति पुगेको छ । सात सरकारी कार्यालय र एक विद्यालयमा क्षति पुगेको छ ।
यस्तै ताप्लेजुङको दोस्रो ठूलो दोभान बजार पनि बाढीको उच्च जोखिममा छ । मैवाखोलाले धार परिवर्तन गरेपछि दोभान बजार उच्च जोखिममा परेको हो ।
ताप्लेजुङको सिदिंवा गाउँपालिका–६ मेहेलेको मुकुभञ्ज्याङमा पहिरो जाँदा बाबु छोराको मृत्यु भएको छ । सोमबार बिहान पहिरोमा परीबाबु केशरबहादुर राई र छोरा सुरेश राईको मुत्यु भएको हो।
मुकुभञ्ज्याङमा पहिरोमा परी रामकुमार राई पनि गम्भीर घाइते भएका छन् । रामकुमारको अवस्था चिन्ताजनक रहेकाले उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर इटहरीबाट मेहेलेतर्फ प्रस्थान गरेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी राजन लिम्बूले जानकारी दिए ।

ताप्लेजुङको दोभानबजार
बाढीले विभिन्न स्थानका पुल बगाउँदा सडक अवरुद्ध भएको छ । तमोर नदीमा आएको बाढीले तेह्रथुम र संखुवासभासँगको सम्बन्ध टुटाएको छ । हेवाखोलामा पुल बग्दा पाँचथर सदरमुकाम फिदिम हुँदै इलाम–झापा झर्ने यातायात अवरुद्ध भएको छ ।
बाढीले पाँचथरका फिदिम, हिलिहाङ, याङवरक र फालेलुङमा ६ पक्की र ७ वटा झोलुंगे पुल बगाएको छ ।
हेवाखोलामा आएको बाढीले बगाउँदा फिदिमस्थित माउन्टेन हाइड्रोमा कार्यरत ४५ वर्षीय दिलकुमार तामाङ र २८ वर्षीय सन्जोक लोवाले ज्यान गुमाएका छन् । हेवाखोलाले बगाउँदा फिदिम–५ घर भई हाल फिदिम–४ मा बस्दै आएका ५५ वर्षीय राजकुमार राई, हिलिहाङ–७ का २७ वर्षीय आशिष माझी र उनकी २५ वर्षीय पत्नी एलिसा माझी बेपत्ता भएका छन्।

ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलाको पुल
यस्तै पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा पुरिएर घाइते भएकी ९ वर्षीया बालिकाको मृत्यु भएको छ । फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको मृत्यु भएको हो । उनलाई आइतबार बिहान ७ वजे स्थानीयले जीवितै उद्धार गरेका थिए । मध्यरातमा घर माथिबाट खसेको पहिराले मनप्रसादको घर बगाएको थियो । बालिकाको खोजी गर्ने क्रममा बिहान जीवितै उद्धार गरिएको थियो । जुनाको आइतबार दिउँसो उपाचारका लागि क्रममा पाँचथर जिल्ला अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हरि खतिवडाले जानकारी दिए ।