विराटनगर : नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले आफूलाई गृह जिल्ला जानका लागि कसैले रोकेर रोक्न नसक्ने बताएका छन् । निर्वाचित क्षेत्रका जनतालाई भेट्न जानका लागि आफू नरोकिने उनले बताए ।
कोशी प्रदेशमा नामकरण खारेजीको माग राख्दै आएको पहिचान पक्षधर समूहले भट्टराईलाई ताप्लेजुङ प्रवेशमा निषेध गर्ने भन्दै विज्ञप्ती जारी गरेका छन् । आदिवासी जनजाति समुदायहरुलाई कानून विपरीत हिंसा गर्ने, पहिचानवादी समुदायहरुको न्यायिक आन्दोलनलाई जबरजस्त दबाउने क्रम जारी रहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको उल्लेख गर्दै जिल्ला प्रवेशमा निषेध घोषणा गरेका हुन् ।
भट्टराईले भने नेपालमा वास्तवित पहिचानवादी नेकपा एमाले भएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘आफूलाई पहिचानवादी भनेर नेकपा एमालेमाथि सांघतिक आक्रमण भइरहेको छ । वास्तवमा उहाँहरु पहिचानवादी होइन । पहिचानवादी नेकपा एमाले हो । संविधानमा समावेशी सिद्धान्तलाई राख्यो । समानुपातिक निर्वाचन प्रणाली राख्यो र धर्म निरपेक्षता लगायतका मान्यतालाई संविधानमा राख्यो, त्यसैले पहिचान पक्षधर पार्टी नेकपा एमाले हो ।’
नेपाली नागरिकलाई संविधानले देशभर जहाँ पनि जाने छुट दिएको भन्दै कुनै समूहदे निषेध गरेर केही नहुने भट्टराईले बताए ।
कोशीमा नामकरण गर्न कांग्रेस र माओवादीको पनि उत्तिकै भूमिका रहेपनि एमालेमाथि पार्टीगत निशाना लगाउनु खेदजनक भएको उनको तर्क छ ।