विराटनगर : मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।
काठमाडौंका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा टाँसेको तस्बीर सार्वजनिक गरेसँगै यो विषयले अहिले देशभर चर्चा पाएको छ । अधिकांशले बालेनको कदमलाई समर्थन जनाएका छन् ।
बालेनको कदमलाई समर्थन गर्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिसकेका छन् ।
भारतले नयाँ संसद् भवन उद्घाटन गरेपछि जारी गरेको नयाँ नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तुसहित ठाउँ समावेश छन् । भारतको उक्त कदमपछि बालेनले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षको भित्तामा लगाएका हुन् । त्यसैलाई निरन्तरता दिँदै केराबारीका अध्यक्षले आइतबार कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।
कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने आफ्नो योजना धेरै अघिको भएपनि समयमै छपाइ नहुँदा ढिला भएको उनले बताए । ‘यो मेरो निकै अगाडिको योजना थियो । छापाखानाले समयमै नछाप्दा ढिलो भएको हो,’ पूर्वेलीप्रेससँग उनले भने, ‘तर, अहिले काठमाडौँका मेयरले राखेको देखेर राख्यो भन्ने कुरा पनि उठिरहेको छ । त्यसलाई म नराम्रो भन्दिँन किनकी देशका ठूला पालिकाका मेयरले गरेको काम कपी गर्दा नराम्रो भइँदैन् ।’
उनले राष्ट्रियताको सवालमा आफू कहिल्यै पछि नहट्ने बताए ।