विराटनगर : कैलालीको टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा आममाफी दिएपछि उनी सोमबार रिहा भएका हुन् ।
रिहा भएलगत्तै उनलाई नागरिक उन्मुक्ती पार्टी (नाउपा) का नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । उनी नाउपाका संस्थापकसमेत हुन् ।
डिल्लीबजार कारागारबाट रिहा भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पूर्वसांसदसमेत रहेका चौधरीले टीकापुर हत्याकाण्डका पीडित र आफूहरूबीच अन्तरक्रिया हुनुपर्ने बताएका छन् । टीकापुर घटनामा मारिएकाहरूका परिवारले पनि न्याय पाउनुपर्ने उल्लेख गर्दै फेरि दुवै पक्षबीच अन्तरक्रिया हुनुपर्ने बताए ।
पीडित परिवारले आफूहरूलाई आरोप लगाए पनि टीकापुर घटनाका दोषीले भने सजाय नपाएको रेशमको भनाइ छ ।
‘उहाँहरू (पिडीत) र हामीबीचमा अन्तरक्रिया गरिनुपर्छ । उहाँले हामीलाई दोषी देख्दै हुनुहुन्छ, हामी भन्दै छौँ– जो दोषी छ उसले त सजाय पाउँदै पाएन । जो दोषी थियो उत मन्त्री बन्यो, जो दोषी थियो उसलाई त राज्यले उपहार, पुरस्कार दियो यस्तो दुर्भाग्य घटना नहोस्, उहाँले जसलाई विश्वास गर्नुभएको छ, उहाँहरू जोसमक्ष याचना गरिराख्नु भएको छ, कतै उहाँलाई पीडा दिनेको घरको ढोका त खट्खटाइराख्नु भएको छैन रु यो गम्भीर कुरा हो,’ चौधरीले भने ।
चौधरीले टीकापुर घटनाका पीडितलाई न्याय दिलाउन आफू र आफ्नो पार्टी तयार रहेको पनि बताए । ‘आफ्ना श्रीमान्, छोराछोरी, दाजुभाइहरू कसरी मारिए भनेर थाहा पाउनुपर्छ । त्यसका लागि म पनि सघाउन तयार छु, नागरिक उन्मुक्ति पार्टीले सघाउछ ।’
उनले लाल आयोगको प्रतिवेदन पनि सार्वजनिक हुनुपर्ने बताए । उनी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि रिहा भएका हुन् ।
मन्त्रिपरिषद्ले आइतबार बिहान रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । ५ वर्ष ३ महिना जेल सजाय काटेका चौधरीले १४ वर्ष ९ महिना जेल सजाय छुट पाएका हुन् ।