Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारले नै मलाई टार्गेटमा राखेर काम गर्यो : मन्त्री लिम्बू



विराटनगर : कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निमर्ला लिम्बूले आफूलाई सरकारले टार्गेटमा राखेर काम गरिरहेको आरोप लगाएकी छिन् ।

प्रदेशको नामकरणपछि आन्दोलनरत पक्षलाई लक्षित गर्दै प्रदेशसभा र मुख्यमन्त्री कार्यालय आसपासमा मात्रै सुरक्षा व्यवस्था कडा पारिएको भन्दै लिम्बूले स्वास्थ्य मन्त्रालय अगाडि सुरक्षा कडा नहुँदा आन्दोलनकारी र प्रहरीबीच झडप भएको बताइन् ।

‘मन्त्रालय अगाडि झडप हुँदा मन्त्रालयका भ्यालका सिसा फुटेको छ । गाडिमाथी तोडफोड भएको छ,’ उनले भनिन्, ‘कर्मचारीहरुलाई प्रहरीले प्रहार गरेको अश्रुग्याल लागेर कामै गर्न नसक्ने अवस्था भएको छ । सरकारले किन मलाई नै टार्गेटमा राखेर काम गरिरहेको छ ?’

प्रदेशसभाको आइतबार जारी बैठकमा बोल्दै उनले स्वास्थ्य मन्त्रालय आसपासको क्षेत्रमा सुरक्षा नदिएको गुनासो गरिन् ।

उनले आफूलाई समेट निशाना बनाएर प्रहार भएको बताइन् । ‘मेरो कार्यकक्षमा गोली प्रहार भएको छ । म बस्ने कुर्सी अगाडि गोली लागेको छ । यदि म त्यहि भएको भए मलाई लाग्न सक्थ्यो,’ उनले प्रश्न गरिन्, ‘के म यहाँको नागरिक होइन् ? यहाँको प्रतिनिधि होइन् ?’

उनले सरकारले अहिलेसम्म दुवै पक्षसँग छलफल गर्न वार्ता टोली गठन गरेर काम गर्न नसक्नुको कारण के हो ? भन्दै सरकारलाई प्रश्न गरेकी छिन् ।

सरकारले नागरिकको हक, अधिकारलाई कुण्ठित गरेर प्रदेशको नामकरण गरेको मन्त्री लिम्बूले आरोप लगाएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार