Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पत्रकारले यथार्थपरक समाचार लेख्नुपर्छ : सांसद पोखरेल



विराटागर : नेकपा एमाले मोरङका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले पत्रकारले यथार्थपरक समाचार लेख्नुपर्ने बताएका छन् । बिहीबार विराटनगरमा आयोजित प्रेस चौतारी नेपाल मोरङ शाखाको वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै पोखरेलले पत्रकारले जुनसुकै विषयमा पनि यथार्थ बुझेर मात्रै समाचार लेख्नुपर्ने बताए ।

पोखरेलले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने तथा सन्तुलित समाचारमा ध्यान दिन प्रेस चौतारी निकट पत्रकारहरुलाई निर्देशन दिएका छन् । ‘पत्राकारले लेखेका समाचार आफ्नो विचारका आधारमा तथ्यपरक लेखिनुपर्छ,’ पोखरेलले भने, ‘पत्रकारले उत्पादन गरेको सामाग्री समाजमा नकारात्मक सन्देश दिने खालको हुनुहुँदैन् ।’

पत्रकारहरुले वास्तविकतालाई छल्न नहुने भन्दै उनले सामाजिक सञ्जालमा फैलाउने भ्रमहरुलाई समेत चिर्न सक्नुपर्ने बताए । हरेक राजनितिक दल निकटका पत्रकार संगठनहरु रहेको भन्दै प्रेस चौतारीका सदस्यहरुले समाचार लेख्ने मात्रै नभई प्रगतिशिल विचार समेत दिन सक्नुपर्ने पोखरेलको भनाइ छ ।

यस्तै उनले राजनीतिक स्थिरता कायम नहुँदा मुलुकले निकास पाउन नसकेको बताए ।

प्रेस चौतारी मोरङका अध्यक्ष सुदीप कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, बरिष्ठ उपाध्यक्ष गणेश पाण्डे, केन्द्रीय सचिव विक्रम लुईटेल, पत्रकार महासंघ मोरङका अध्यक्ष सन्जीव खनाल, प्रेस युनियनका कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, प्रेस सेन्टरका मोरङ अध्यक्ष अर्जुन आचार्य लगायतले वार्षिक साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

वार्षिक साधारणसभाको अवसरमा प्रेस चौतारी मोरङले शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार २०७९ बाट धनकुटाका पत्रकार रमेशचन्द्र अधिकारीलाई सम्मान गरेको छ । उक्त पुरस्कारको राशी २१ हजार रुपैँया रहेको छ ।

२०७७ सालबाट शुरु भएको यो पुरस्कार पहिलो वर्ष मोरङका पत्रकार यज्ञप्रसाद शर्मा र २०७८ मा सुनसरीका पत्रकार लिलाराज भट्टराईले प्राप्त गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार