Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

६१ लाखको गरगहनासहित विराटनगरबाट तीन जना पक्राउ



विराटनगर : मोरङ प्रहरीले विराटनगरबाट ठूलो परिणाममा चाँदीका गरगहना बरामद गरेको छ ।

विराटनगरका विभिन्न ठाउँमा चोरी भएको सूचनाका आधारमा अनुसन्धान थालेको मोरङ प्रहरीले बुधबार राति चाँदीका गरगहनासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर १२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक गौतम र  २२ वर्षीय श्रीकान्त दास रहेको मोरङ प्रहरीका एसपी दीपक पोखरेलले जानकारी दिए ।

जेठ ३ गते विराटनगर महानगरपालिका ३ पिपल चोकस्थित जयकिशोर चौधरीको घरमा चोरी भएको भन्ने सूचनाका आधारमा प्रहरीले उक्त क्षेत्रमा सादा पोशाकमा र प्रारम्भिक अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वका प्रहरी टोली परिचालन गरेको थियोे ।

लगातार ७ दिनको अनुसन्धान र निगरानीको माध्यमबाट उनीहरूलाई विराटनगर १२ मा रहेको कोशी प्रोजेक्ट सडक खण्डबाट पक्राउ गरेको पोखरेलले बताए ।

उनीहरूले चोरीका सामान भारतीय बजारमा लगेर बिक्री गर्ने गरिएको डीएसपी रञ्जन कुमार दाहालले जानकारी दिए ।

पक्राउ परेका तीनै जना चोरी कार्यमा यसअघि पनि सजाय भुक्तान गरी जेलबाट छुटेका थिए ।

प्रहरीले उनीहरुको साथबाट ३५ केजी चाँदी, ८ ग्राम सुन, भारु २५०० नेपाली रुपैयाँ एक हजार ७३० र दुई थान मोबाइल बरामद गरेपनि २० तोला सुन उनीहरूले यसअघि नै भारतीय बजारमा लगेर बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

उनीहरूले चोरी गरेको गरगहना करिब ६१ लाख मुल्य बराबरको रहेको दाहालले जानकारी दिए ।

घटना सम्बन्धमा अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार