फाइल तस्बीर : अमनलाल मोदी
काठमाडौँ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्धमात्रै आए पनि कारबाही हुने चेतावनी दिएका छन् । प्रेस सेन्टर नेपाल काठमाडौंको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले भने, ‘विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालय मातहतका कर्मचारीहरु हुनुहुन्छ, मैले सबैलाई भनेको छु, भ्रष्टाचारको गन्धमात्रै आएको खण्डमा पनि कारबाही हुन्छ ।’
भ्रष्टाचारलाई निर्मूल पारी सुशासन कायम गर्नेगरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको भन्दै उनले भ्रष्टाचारको गन्धमात्रै आउने काम देखिए कारबाही गर्ने बताएका हुन् । मन्त्री मोदीले अहिलेको सरकारको प्राथमिकता भनेकै सुशासन कायम गर्ने भएकाले कर्मचारीहरुबाट त्यसको कार्यान्वयन हुनुपर्ने बताए । ‘प्रधानमन्त्रीज्यूको पहिलो मिसन भनेको सुशासन हो । सामाजिक न्याय, सुशासन र विकास र समृद्धि अहिलेको सरकाको मुख्य मिसन हो । यसबाहेक कुरामा ध्यान दिएको खण्डमा सबैलाई जुनसुकै हदसम्मको कारबाही हुन्छ ।’
आफूले सम्हालेको मन्त्रालयमा सुशासनसँग जोडिएका दूरगामी महत्वका कामहरु अगाडि बढाएको बताउँदै उनले भने, ‘संघीय निजामती सेवा ऐन ल्याउने र सुशासन कायम गर्ने विषय नै मेरो पहिलो प्राथमिकताको विषय हो, अहिले हामी निमित्तको शासन हटाउने काममा लागेका छौँ ।’
उनले कसैको सोर्सफोर्स नसुनीकन बढुवा भएका उपसचिवहरुलाई स्थानीय तहमा खटाएको समेत बताए ।