विराटनगर : अन्य ६ वटा प्रदेशमा सत्ता बाहिर रहेको एमालेले कोशी प्रदेशमा भने सरकारको नेतृत्व गरिरहेको छ । कोशी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेतासमेत रहेका हिक्मत कुमार कार्की मुख्यमन्त्री छन् ।
अरु प्रदेशमा झै कोशीमा पनि एमालेको सरकार ढाल्न गठबन्धनका नेताहरु जोडबलका साथ लागि परिरहेका छन् । शुक्रबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रको सत्ता गठबन्धन अनुसार कोशी प्रदेश सरकार निर्माण गर्न आग्रह गरेका छन् ।
कोशी प्रदेशमा अहिले एमालेसँगै गठबन्धनका रहेका नेकपा माओवादी र जनता समाजवादी पार्टी (जसपा) सरकारमा छन् । माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको बाटो खुल्ला गर्नुपर्ने कांग्रेसको माग छ । कोशी सरकारमा माओवादीका तर्फबाट दुई र जसपाबाट एक जना मन्त्री छन् । उनीहरु सरकारबाट नबाहिरिदाँ गठबन्धन सरकार बनाउने प्रयास रोकिएको कांग्रेसको तर्क छ ।
माओवादी केन्द्रबाट जीवन आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री र दुर्गाप्रसाद चापागाईं भौतिक पूर्वाधार विकासमन्त्री छन् । त्यसैगरी जसपाकी निर्मला लिम्बू स्वास्थ्यमन्त्री छिन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला केन्द्रीय गठबन्धनमा रहेको माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने बताउँछन् । बिहीबार विराटनगरको एक कार्यक्रममा उनले माओवादी र जसपाले समर्थन फिर्ता नलिइकन सरकार परिवर्तनको कोर्स अगाडि बढ्न नसक्ने बताएका थिए । ‘माओवादी र जसपा सरकारमा छ । जो कि केन्द्रमा हामीसित गठबन्धनमा छ । पहिले उनीहरूले सरकारबाट समर्थन फिर्ता लिनुर्पयो नि त,’ उनले त्यसबेला भने ।
कोशी प्रदेशमा माओवादी केन्द्रले सरकार परिवर्तन गर्न चासो नदिएको कांग्रेस नेताहरुले आरोप लगाएका छन् । ‘केन्द्रमा एक खालको गठबन्धन छ, त्यही अनुसार अरु प्रदेशमा सरकार निर्माण भइरहेको अवस्था छ,’ कांग्रेसका एक सांसदले भने, ‘कोशी प्रदेशमा पनि नयाँ सरकार गठन गर्न हामीले पटकपटक कुरा उठाइरहेको छौँ, शिर्ष नेताहरुसँग पनि कुरा भइरहेको छ, तर, माओवादीले चासो देखाएको जस्तो देखिदैन् ।’ कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका ती सांसदले माओवादीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको कोर्स सुरु गर्नुपर्ने बताए ।
कोशी प्रदेशसभामा ९३ सदस्य छन् । तर, कुनै दलसँग एकल बहुमत छैन् । प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, सभामुखसहित माओवादी केन्द्रका १३, राप्रपाका ५, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । केन्द्रमा यी दलहरुमध्ये एमाले र राप्रपा सरकार बाहिर छन् भने कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा एउटै सरकारमा छन् । कोशीमा भने परिस्थिति फरक छ । पुरानै गठबन्धनको सरकार छ ।
केन्दीय गठबन्धनमा रहेका दलहरुसँग कोशी प्रदेशमा ४७ सांसद छन् । तर, माओवादी केन्द्रका बाबुराम गौतम सभामुख भएकाले यो गठबन्धनलाई सरकार बनाउन मुस्किल छ । यता एमाले र राप्रपासँग ४६ सांसद छन् । एमाले र राप्रपाबीच चुनावीदेखिनै गठबन्धन छ ।
प्रदेश सभाबाट विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार ढलेको खण्डमा पनि कांग्रेस–माओवादी गठबन्धनसँग सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्ने देखिँदैन । सभामुखले बराबर भएको अवस्थामा मात्र निर्णायक मत दिन पाउने भएकाले कांग्रेस–माओवादी सम्मिलित गठबन्धनसँग सरकार निर्माणका लागि आधार तय भइनसकेको माओवादीको भनाइ छ । ‘अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिएर पनि नयाँ सरकार बनाउन सहज परिस्थिति छैन्,’ माओवादी केन्द्रका एक नेताले भने, ‘यस्तो अवस्थामा माओवादी हतार गरेर हुँदैन् । पहिला सरकार निर्माणको आधार बन्नुपर्यो नि !’
गठबन्धनका नेताहरुले एमालेसँग नजिक रहेका राप्रपालाई पनि नयाँ गठबन्धनमा सामेल गराएर सरकार परिवर्तनका लागि पहल गरिरहेका छन् । तर, अहिलेको परिस्थितिमा राप्रपा सरकार परिवर्तनमा नलाग्ने पक्षमा रहेको नेताहरुको भनाइ छ । राप्रपा संसदीय दलका नेतासमेत रहेका कृषिमन्त्री भक्ति प्रसाद सिटौला आफ्नो पार्टी सरकार टुटाउने र फुटाउने खेलमा नलाग्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले सरकार परिवर्तनको कुरा गर्न सकिदैन्, यही सरकारले निरन्तरता पाउँछ ।’